|

काठमाडौं : नेपाली कांग्रेस​ले गण्डकीमा शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफलका लागि बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। 

कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसको अन्तिम किनारा नलागेसम्म संसद बैठकमा सहभागी नहुने प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए। 

मुद्दाको अन्तिम किनारा नलागेसम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा कांग्रेसको सहभागिता नरहने कांग्रेस संसदीय दलका प्रमुख सचेतक न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले अदालतको आदेशविपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने बताएका छन्।

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्नेमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.