'रविको नामबाट कांग्रेस पछि हटिसक्यो'
'रविको नामबाट कांग्रेस पछि हटिसक्यो'
काठमाडौं : सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिए पनि कांग्रेस लचक बनेको एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताएका छन्।
शुक्रवार बिहान सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि बर्तौलाले बैठक सकारात्मक रुपमा अघि बढिरहेको र कार्यादेश बनाउने गरी बैठक उन्मुख भएको बताए।
उनले नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने कुराबाट कांग्रेस पछि हटेको र कांग्रेसले गृहमन्त्री संलग्न रहेको भनिएको र ऋण लिएको भनिएको विषयमा तोकेर कार्यादेश बनाउने कुरा अघि बढेको बताए।
‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ। गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ। बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ। गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ। नेपाली कांग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसदबाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ’, उनले भने, ‘नेपाली कांग्रेस यसमा थप लचकता अपनाएर आएको छ। गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर जाऔँ भन्नेकुरामा लचकताका साथ आएको छ। त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ। हाउस अघि बढ्छ।’
उनले उपप्रधानमन्त्री लामिछानेले ऋण लिएको भनिएको सहकारीको नाम किटान गरेर अघि बढ्ने कुरामा सकारात्मक वार्ता भएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।