पाल्पा : नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताएकी छन्। नेकपा एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन कार्यक्रममा व्यक्तिमाथि छानबिन गरेर निकास नआउने उनले बताइन्।
व्यक्तिको खल्तीमा छानबिन गर्ने होइन। संस्थाको छानबिन गर्न सके पीडितले न्याय पाउने अर्यालले दाबी गरिन्। कांग्रेसले आफैँ देश बनाउँदैन। अरूलाई पनि बनाउन दिँदैन। सरकारमा आफैँ भएका बेला सहकारीको रकम अनियमिततामा चुइक्क बोलेन। अहिले फण्डा मच्चाएर सरकारमा जाने बाटो खोजिरहेको छ। जनतालाई भ्रमित पारेर सरकारमा जाने कांग्रेसको छिर्के दाउ पूरा नहुने उनले बताइन्।
कांग्रेसलाई सरकार बाहिर बस्दाको छट्पटी मात्रै भएको हो। सहकारी रकम अनियमितताबारे संस्थागत छानबिन गरेर यसमा जोडिएका सबैलाई कारबाही गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहेकी अर्यालले बताइन्।
पीडितलाई न्याय दिन अहिलेको सरकार र एमाले पार्टी प्रतिबद्ध रहेको बताइन्। मुलुक बनाउने कुनै मुद्दा नपाएपछि कांग्रेसले
कैलास सिरोहिया र व्यक्तिमाथि राजनीति गरिरहेको छ। दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियालाई अदालतले खोजेको र यसमा सरकारको कुनै हात नरहेको उनले बताइन्।
काङ्ग्रेस हल्ला र फण्डा सिर्जना गर्ने पार्टी हो। मुलुकलाई बर्बाद बनाउने तत्व कांग्रेस भएको उनले आरोप लगाइन्। सहमतिमा नयाँ नेतृत्व चयन गर्न एमाले पाल्पाका नेता तथा कार्यकर्तालाई अनुरोध गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।