|

काठमाडौं : स्थायी ठेगाना झापाको कन्काई १ भए पनि मुस्कानको बाल्यकाल धादिङको सदरमुकाम धादिङबेसीँमा बित्यो। बाबाको सरकारी जागिरको सिलसिलामा उनको परिवार त्यहाँ बसेको थियो। त्यहीँको एडभान्स एकेडेमीमा उनले अध्ययन गरिन्, जहाँ उनकी आमा पनि पढाउँथिन्।

मुस्कानले कविता लेख्न थालेको स्कुलदेखि नै हो। कक्षा ५ तिर पढ्दा हुनुपर्छ, एकदिन उनले आफ्नै कोर्सबुकको कविता ‘परिश्रमी छु म खेतीवाला’ लाई नक्कल गरेर ‘परिश्रमी छु म विद्यावाला’ बनाइन्।

यही कविता स्कुलका प्रिन्सिपल गोविन्द बुढाथोकीलाई देखाइन्। स्कुलमा कम्प्युटर साइन्स पढाउने गोविन्द साहित्यमा पनि रुचि राख्थे। उनले भने, ‘यसरी कपी गरेर लेख्नु हुँदैन। म तिमीलाई कविता लेख्न सिकाइदिन्छु।’ गोविन्दले सिकाएपछि मुस्कानले पहिलोपटक आफ्नै मनले ‘गुन्द्रुक’ शीर्षकको कविता लेखिन्। 
 

अहिले मुस्कानलाई थाहा छैन, त्यो कवितामा उनले के लेखेकी थिइन्। तर, त्यसपछि उनले चुपचाप थुप्रै कविता लेखिन्। आफ्ना कुरा प्रस्ट भन्न नसक्ने मुस्कानले कवितामा भावना अभिव्यक्त गरिन्। मुस्कानलाई अहिले हेर्न मन छ, स्कुल पढ्दा कस्तो थियो उनको मन। तर, उनले डायरीभरि लेखेका कविता धादिङबाट काठमाडौँ पस्दा उतै कतै छुट्यो। 
 

कोटेश्वरको सीसीआरसी कलेजबाट १२ कक्षा पास गरेपछि उनी एमबीबीएस पढ्न बंगलादेश गइन्। उनले कविता लेखेको कुरा कहिल्यै बुवा–आमालाई सुनाइनन्। पोयट आइडलमा उनका कविता सुनेर उनका बुवाआमा भन्छन्, ‘यति धेरै कविता लेख्ने रहिछौ, कहिले लेख्छु पनि भनिनौ त!’  
 

पोयट आइडलको यो सिजन सकियो। अब अन्तिम नतिजा घोषणा हुन मात्रै बाँकी छ। मुस्कान उत्कृष्ट ४ मा छिन्। उनीसँगै सुकिता राई, मोहित जोशी र विजय लुइँटेल उपाधि भिडन्तमा छन्।

सिजनको अन्तिम शृंखला सुटिङ हुँदै गर्दा मुस्कानको मन देश छोडेर बंगलादेश जाँदाजस्तै भारी भएको थियो। मुस्कान आफू सन्तुष्ट छिन्, जहाँ पुगेकी छिन्। उनकी आमा झन् खुसी छिन्।

आमाले मुखले तिमीले उपाधि जिते हुन्थ्यो त भनेकी छैनन्, तर मुस्कानले आमाको आँखामा त्यो भाव पढेकी छन्। आफन्त र साथीहरू उत्साहित छन्। मुस्कानलाई लागिरहेको छ, ‘मेरो आगामी यात्राले आफ्नाहरूलाई नदुखाए हुन्थ्यो।’

प्रतियोगितामा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बा, कलाकार अनुप बराल र केकी अधिकारी निर्णायक छन्। प्रतियोगिता कवि क्षेत्रप्रताप अधिकारीप्रति समर्पित गरिएको छ। 

आइडलको अडिसनमा मुस्कानले सुनाएको कविता :

मेरो मस्तिष्कमा एउटा अदालत छ

मेरो मस्तिष्कमा एउटा अदालत छ
अनि मेरो जिन्दगी त्यहाँ कैदी
हर रात हुन्छ त्यहाँ एउटा बहस
मेरो जीवनलाई उभ्याई कठघरामा
अनि न्यायाधीश बनेको छ मेरो आत्मा

त्यो अदालतमा, 
विपक्षमा बोल्ने एउटा आवाज छ
ऊ को हो मलाई थाहा छैन
तर मेरो लागि ऊ एउटा असुर हो,
महिसासुर, भस्मासुर, यस्तै कयौँ
असुरभन्दा अलि भिन्न छ ऊ
ऊ मभित्रको अदालतमा मेरो जीवनलाई दोषी ठहर्‍याउने हजारौँ सबुत जम्मा गर्छ 
अनि अदालतमा पेस गर्छ

अनि म छु,
आफूभित्रको अदालतमा
आफूभित्रकै असुरलाई नकार्दै
आफ्नो जीवनको नाममा लागेको
हर गलत दोषको अगाडि ढाल बनी उभिई
‘ऊ निर्दोष छ जज साहब,
ऊ निर्दोष छ’ 
भनी रिहाइको लागि कराइरहेको वकिल

असुर भन्छ मेरो जीवन हर कसैको लागि बोझ हो
बोझ बढे कम गराउनु नै न्याय हो
समाजमा तोकिएको आँसुभन्दा ऊ अलि धेरै रुन्छ
समाजले बनाएको हाँसोभन्दा ऊ अलि बढी नै हाँस्छ

हतकडीले पुग्दैन उसलाई
नजरबन्दीको सजाय देऊ
म भन्छु ‘अब्जेक्सन माइलर्ड!’

बोझ जीवन हैन समाजको सोच हो
उसलाई खुलेर आफैमा हाँस्न त देऊ
खोजीमा छ ऊ आफ्नै होसको
एकछिन उसलाई बेहोसीमै भए नि हाँसो चाख्न त देऊ
बगेका आँसुहरुलाई घट्टको समीप पुग्न त देऊ
आफूभित्रको त्यो नकारात्मक उर्जालाई
अलिकति भए पनि बिजुली बन्न त देऊ

असुर भन्छ यो जीवनको अस्तित्व नै श्रापित छ
ऊ जल्छ आफू, जलाई वरिपरिका सबै सहर
कालो रातसँगै ऊ आफ्नै घाइते मनलाई छुन्छ
मलहम लगाउने हातलाई ऊ दुश्मन सोची टोक्छ

जन्मकैदले पुग्दैन उसलाई
मृत्युदण्डको सजाय देऊ
म भन्छु, ‘अब्जेक्सन माइलर्ड!’

उसको अस्तित्व श्राप हैन असुरको आशङ्का हो
वास्तविकतालाई आँखाको पट्टी च्यात्न त देऊ
जल्यो जे त्यो अयोध्या थिएन, 
रावणको लङ्का हो
लङ्काका केही विभीषणलाई 
कैकेयीसँग तिमी साट्न त देऊ
नाभी खोजी रावणको साहसले 
संहार गर्न त देऊ
समाप्ति त सजिलै छ निम्त्याउन तर
निष्पक्ष बनी उसलाई एकैछिन भए नि बाँच्न त देऊ

मेरो मस्तिष्कमा एउटा अदालत छ
अनि मेरो जिन्दगी त्यहाँ कैदी
हर रात हुन्छ त्यहाँ एउटा बहस
मेरो जीवनलाई उभ्याई कठघरामा
अनि न्यायाधीश बनेको छ मेरो आत्मा।

“मेरो मस्तिष्कमा एउटा अदालत छ” शीर्षकको कविता सँगै उनले अन्य २९ वटा कविता फाइनल राउण्ड सम्ममा वाचन गरिसकेकी छन्। उपाधि दाबेदार डा. पोखरेलले उपाधि हात पार्नका लागि आफूलाई भोट गरिदिन आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.