पाल्पा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताए।
'२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले थपे, ‘नेतृत्व एमालेले गर्छ। खबरदारी कांग्रेसले गर्छ।’
कांग्रेस गठबन्धनको सरकारले जनताकोहितमा काम गर्न नसकेपछि एमालेसँगको सहकार्यमा सरकार बनेको उनले बताए। मुलुक बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको बताउँदै उनले जनताले एमालेकै विश्वास र भरोसा गरेका उल्लेख गरे। पछिल्ला समयमा भएका उपनिर्वाचनले यसको संकेत गरेको पोखरेलले बताए।
उनले हचुवाको भरमा अब पनि पार्टी एकता गरे प्रहसन नै हुने बताए। अहिले पार्टीलाई निर्णायक तहमा कसरी बलियो बनाउने, सुदृढीकरण गर्ने र जनतासँग कसरी जोड्ने भन्ने काममा नेतृत्व लागेको उनले सुनाए।
एमालेको मुख्य काम मिसन चौरासी भएको र कसैको सहारा बिना एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने पोखरेलले दावी गरे। मुलुकमा विकास र समृद्धि ल्याउनका लागि अस्थिरता र अराजकताको अन्त्य गर्नुपर्ने उनले जिकिर गरे।
अराजकताको पछि मान्छे भेला हुन थालेको उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह, दुर्गा प्रसाईँकापछि मान्छे लागेका उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।