काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्न चिह्न उठ्ने गरी ल्याउन नहुने बताएका छन्।
शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशा बारे गरेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले सरकारले ल्याउने बजेट शुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौती रहेको सन्देश दिने गरी ल्याउन नहुने बताए। पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे।
उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिए। उनले बजेट राजश्व, अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट कसैलाई नभएको पनि बताए। उनले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे।
पौडेलले बजेट १७ खर्बभन्दा माथिको जान नहुनेमा बताउँदै आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बन्न नसक्ने दावी गरे। उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे।
उनले १६औँ योजना, दिगो विकास लक्ष्य, अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नति हुँदाका अवसर र चुनौतीका आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनु पर्नेमामा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।