|

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ।

काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो। बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका सांसदहरू आ-आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरूले बोल्नका लागि समय माग गरेका थिए। सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरे पनि काँग्रेस सांसदहरू बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अघि नबढाई बैठक स्थगित भएको जानकारी गराएका थिए।

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए। सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरूलाई बोल्न नदिएको भन्दै संसद् प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए। उनले सत्ताको इसारामा संसद् एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए।

पौडेलले भने, ‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन। संसद् प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लंघन गरेको छ। सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ।’

सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण आफूहरूले बोल्न नपाएको बताए। उनले काँग्रेस सांसदहरूले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गरी अशिष्ट र अशोभनीय शैली अपनाएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काँग्रेस सांसदहरूलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसद्‌मा बारम्बार बोल्न दिइएको बताए। माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले नेपाली कांग्रेसका सांसदहरूले आफूहरूको मौलिक हकको अपहरण गरेको आरोप लगाए।

उनले काँग्रेस सांसदहरू आफू बोलेर संसद् अवरोध गर्ने गरेका भन्दै सोही कारण सभामुखले आजको बैठकमा काँग्रेसलाई बोल्न नदिएको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.