|

ललितपुर : नेकपा एमाले गोदावरी नगर कमिटीको अध्यक्षका लागि ३ जनाको नाम चर्चामा रहेको छ। 

आगामी जेठ २५ गते शुक्रबार गोदावरी नगरपालिका-१० मा अवस्थित वेलकम पार्टी प्यालेसमा हुने दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व छान्नेछ। 

नयाँ नेतृत्वका लागि आकांक्षीहरूले आ-आफ्नो तयारी तीव्र पारेका छन्। 

विशेषगरी पूर्व जिल्ला कमिटी सदस्य श्रीराम आचार्य, निर्माण व्यवसायी एवं नगर सचिवालय सदस्य विक्रम घिमिरे र नगर उपसचिव रमी प्रधानांगको नाम चर्चामा छ। 

अगुवा कृषक एवं पूर्व जिल्ला कमिटी सदस्य चित्रराज तिमल्सिना र नगर कमिटी सचिव मिथुन महर्जनको नाम पनि चर्चामा छ। 

यस्तै निवर्तमान नगर इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ र पूर्व जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जनको नाम पनि अदृश्य रूपमा आइरहेको छ। 

समृद्ध गोदावरी निर्माण र संगठन सुदृढीकरण गर्नका लागि आफूले उम्मेदवारी दिने अधिवेशनको प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका विक्रम घिमिरेले बताए। 

सबै वडामा अध्यक्ष र मेयर उपमेयर लगायत सबै प्रतिनिधि जिताउने गरी काम गर्न आफूले उम्मेदवारी दिने उनले बताए। ‘म युवा छु, जोस जाँगर छ’, उनले भने, ‘अहिले युवाहरूमा राजनीतिप्रति आकर्षण छैन, त्यो हटाएर व्यवस्थित पार्टी निर्माणमा मेरो भूमिका रहन्छ।’ 

श्रीराम आचार्यले सकेसम्म सर्वसम्मत गर्ने प्रयासमा आफू रहेको बताए। उनले आफू नगर कमिटी हाँक्न योग्य रहेको बताए।

‘सबैलाई मिलाएर लानुपर्छ‚ पार्टी हाँक्न सक्ने फुर्सद भएका मान्छे हुनुपर्छ’, उनले भने‚ ‘सबैलाई मिलाएर लैजाने हो, कसैलाई चिढ्याउन हुँदैन।’ 

अध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेकी रमी प्रधानांगले आफूलाई यसपटक सहयोग गर्न सबैमा आग्रह गरिन्। ‘मेरो अध्यक्षमै दाबी हो, म हरहालतमा छोड्दिनँ’’ उनले भनिन्।

प्रतिनिधि संख्या टुंगियो, लोगो सार्वजनिक

नगरका कार्यवाहक अध्यक्ष नन्दश्याम महर्जनको संयोजकत्वमा २ सय ३१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ। अधिवेशनका लागि विभिन्न ११ वटा उपसमिति तयार गरी काम बाँडफाँड गरिएको छ। 

१४ वटा वडा रहेको गोदावरी नगरभित्र १ हजार १ सय ९६ पार्टी सदस्य रहेका छन्। प्रत्येक वडाबाट १० बराबर १ जना सदस्य प्रतिनिधि भएर अधिवेशनमा जान पाउने प्रचार संयोजक घिमिरेले बताए। 

अधिवेशनको लोगो शनिबार सार्वजनिक गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.