|

काठमाडौं :

म उसै छँदै थेँ पागल, नहुँदा तिमी नजिकमा
नभई भएछु घायल, नहुँदा तिमी नजिकमा।

हरसाँझ दीयो जल्छ तिम्रो यादमा,
भिज्दै परेली गल्छ तिम्रो यादमा।

गजलकार भोजराज घिमिरका यी दुई गजल क्रमशः  कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ र लालकाजी श्रेष्ठका कर्णप्रिय धूनमा सुमधुर स्वरमा गुञ्जिँदा राष्ट्रिय नाचघर, जमलको सानो प्रेक्षालय 'वाह! वाह!!'ले पुलकित थियो।

नेपाल गजल प्रतिष्ठानले हरेक दुई महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा'को  चौथो शृङ्खलाका सन्दर्भमा उक्त गजल गाइएको थियो। 

यस पटकको शृङ्खलामा गजलकारहरू भुवन बोहोरा 'निस्तेज', आर्य आयुषा र त्रुपकलाई प्रस्तुत गरिएको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।

मुशायरामा गजलकारत्रयले शास्त्रीय बहरबद्ध गजलहरू तरन्नुम र तहतमा वाचन गरेका थिए।

खुला प्रवेश गरिएको मुशायरामा घिमिरेको नयाँ गजल कृति 'नाद'को विमोचनसमेत गरिएको थियो।  घिमिरेको दोस्रो शास्त्रीय बहरबद्ध गजल कृति 'नाद'माथि समीक्षकहरू भुवन निस्तेज र घनेन्द्र ओझाले टिप्पणी गरेका थिए।

समीक्षक निस्तेजले 'नाद'का गजलहरूमा विविध विषयभाव प्रस्तुत गरिएको भन्दै परिष्कृत र शिल्पयुक्त गजलहरू सङ्ग्रह गरिएको बताए। ओझाले गजलकार घिमिरेको जीवन, समाज, राजनीति, संस्कृति र प्रेमलाई हेर्ने दृष्टि र बुझ्ने कोण अलग भएको बताए। हरेक विषय र सन्दर्भलाई प्रतीकात्मक र दार्शनिक तवरले प्रस्तुत गर्ने गजलकारको शैलीको ओझाले प्रशंसा गरे।

ओझाले गजलमा बहरका नाममा भइरहेको मानक नेपाली भाषा र वर्णविन्यासको विद्रुपीकरणबारे चिन्ता व्यक्त गरे। भाषामाथिको हस्तक्षेप र अतिक्रमणले सभ्यता र संस्कृति लोप हुने ओझाको भनाइ थियो। गजलका लागि बहर अनिवार्य भएको तर हामीले हाम्रै भाषाका मानकअनुसार बहर प्रयोग गर्नुपर्नेमा उनको जोड थियो।

गजलकार घिमिरेले गजल लेख्नु आफ्ना लागि नशा जस्तै भएको उल्लेख गर्दै गजलमा रमाउँदा आनन्द लाग्ने बताए। अध्ययन, अभ्यास र परिष्कार कहिल्यै नसकिने बताउँदै घिमिरेले आफू सधैँ परिष्कारका लागि तयार रहेको सुनाए। गजलप्रतिको मोहका कारण उक्त कृति आएको उनको भनाइ थियो।

नेपाली गजलको परिष्कार अभियानमा सक्रिय प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत गजल प्रशिक्षण गर्दै आएको छ भने समयसमयमा साङ्गीतिक गजल मुशायरा पनि गरिरहेको छ।

यसअघि गत १७ चैतमा प्रतिष्ठानले 'बृहत् साङ्गीतिक गजल गुञ्जन' सम्पन्न गरिसकेको छ। यस्तो बृहत् साङ्गीतिक गजल गुञ्जन हरेक वर्ष चैतमा गरिने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.