|

काठमाडौँ : नेपाल भलिबल सङ्घ र केडिया अर्गनाइजेसन प्रालिबीच नेपाल पुरुष भलिबल फ्रेन्चाइजी लिगको आयोजन गर्ने विषयमा सम्झौता भएको छ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रबन्ध निर्देशक विमलकुमार केडियाबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पुरुष फेन्चाइजी लिग आयोजना गर्ने विषयमा हस्ताक्षर भयो।

उक्त सम्झौता ७ वर्षका लागि गरिएको छ। सम्झौताअनुसार केडिया अर्गनाइजेसनले यसका लागि प्रत्येक वर्ष भलिबल सङ्घलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउनेछ। 

नेपाल भलिबल सङ्घले नेपालमा पहिलोपटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयास गरेको सङ्घका अध्यक्ष चन्दले बताए। उनले उक्त प्रतियोगिता आगामी माघ/फागुनमा आयोजना गर्ने योजना रहेको बताउँदै उक्त प्रतियोगितको सम्पूर्ण व्यवस्थापन केडिया अर्गनाइजेसनले गर्ने उल्लेख गरे।

होम एन्ड अवेका आधारमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न सात टोलीलाई सहभागिता गराइने तयारी रहेको आयोजकले जनाएको छ।

त्यसैगरी केडिया अर्गनाइजेशनका प्रबन्ध निर्देशक केडियाले भलिबल खेलको विकासका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकास र विस्तार हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.