|

काठमाडौं : लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। ३ किलो ५४.५ ग्राम कोकिनसहित बोलिभियन महिला रोशी गुडे टोलेडो भाइलेजोस र थाइ महिला वारान्या कावापिकुलालाई प्रहरीले पक्राउ गरेको हो। जसको अन्तर्राष्ट्रिय बजारमा ६ करोड १० लाख ८० हजार रुपैयाँ पर्दछ।

बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारत हुँदै नेपाल भित्रिएको कोकिन मलेसिया लान लागिएको अवस्थामा प्रहरीले थाइ महिला वारान्यालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनलाई बोलिभियन महिला रोशीले ठमेलको एक गेस्ट हाउसमा कोकिन दिएकी थिइन्।

भारतको नयाँ दिल्लीबाट साउन १९ काठमाडौ आएकी बोलिभियन महिलाले ३ हजार अमेरिकी डलर पाउने प्रलोभनमा कोकिन बोकेर नेपाल आएकी थिइन्। उनले साउन २३ गते थाइ महिलालाई कोकिन दिएकी थिइन्। 

उनीहरु दुवै जना कोकिनका भरिया मात्र रहेको प्रहरीले जनाएको छ। बोलिभियाबाट नेपालसम्म ल्याउने जिम्मा बोलिभियन महिलाको र नेपालबाट दुबई लाने जिम्मा थाई महिलाको रहेको थियो। थाई महिलालाई ७० हजार भाटको प्रलोभन दिइएको थियो। दुवै जना पहिलोपल्ट नेपाल आएको लागूऔषध नियन्त्रण ब्यूरोका डिएसपी अपिल बोहराले जानकारी दिए।

नेपाल बन्दैछ तस्करीको ट्रान्जिट

युरोपियन मुलुकमा खपत हुने कोकिन नेपालको दक्षिण अमेरिकी मुलुकबाट नेपालको बाटो हुँदै युरोप जाने गर्दछ। नेपालको विमानस्थलको सुरक्षा कमजोरीको फाइदा उठाउदै लागूऔषध तस्करहरुले युरोप लाने गर्दछ। 

नेपालको विमानस्थलमा आउँदा खासै चेकजाँच नहुने भएकोले नेपालको बाटो हुँदै कोकिनको कारोबार हुन थालेको ब्युरोका प्रहरी वरिष्ठ उपरिक्षक गणेश केसीले बताए। ‘हाम्रो विमानस्थलमा सुरक्षाकर्मीको पहुँच छैन। जाने बेलामा कडा चेकजाँच हुन्छ तर आउने बेला सामानहरुको स्क्रिनिङ समेत हुदैन’, उनले भने ‘त्यसैले जस्तो सुकै सामान नेपाल भित्रन सजिलो छ।’

खैरो हेरोइन, सेतो हेरोइन र चरेशपछि अत्यन्त मंहगो हुने कोकिनको नेपालमा फेला पर्न थालेको ५ वर्ष मात्र भयो।  २०६८ पुस २० गते थाई नागरिक सुपरेट्टा मेकेन्टोस एक किलो कोकिनसहित पक्राउ परेपछि नेपालको बाटो हुँदै कोकिन युरोपियन मुलुक जाने गरेको रहस्य खुलेको थियो। पेरुमा बनेको कोकिन मलेसिया हुँदै नेपाललाई ट्रान्जिट बनाएर युरोप लाने क्रममा थाइ नागरिक पक्राउ परेका थिए।

दक्षिण अमेरिकाको कोलम्बिया, बोलिभिया र पेरुमा कोकिन उत्पादन भई युरोप र अमेरिकामा खपत हुने गर्दछ। पेरु र ब्राजिलबाट दक्षिण अफ्रिका, दुबई हुँदै नेपाल आउने गरेको कोकिन भारतको दिल्ली हुँदै मलेसिया, थाइल्याण्ड, नेदरल्याण्ड, अष्ट्रेलिया समेत जाने गरेको छ। 

नेपालको बाटो प्रयोग हुनु अघि बंगलादेश, भारत र पाकिस्तानलाई ट्रान्जिट प्रयोग गर्ने कारोबारी अहिले नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउदै नेपालको बाटो प्रयोग गर्ने गरेका छन्। हवाईमार्गबाट आउने यात्रुको कमजोर सुरक्षा जाँच प्रणाली, विमानस्थलबाट बाहिरिन सके स्थलमार्गबाट भारत र चीन जान सहज हुनु र नेपालमा पक्राउ पर्दा मृत्युदण्डजस्तो कडा कारबाही भोग्न नपर्ने नै पछिल्लो समय कोकिन भरियाको रुटमा नेपाल परेको लागूऔषध नियन्त्रण व्युरोमा प्रमुख जयबहादुर चन्दले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.