|

कपिलवस्तु :  निर्माण सम्पन्न भएको ६० वर्ष बितिसक्दा समेत सदरमुकाम तौलिहवा जोड्ने सडकको अवस्था सुधार भएको छैन। सदरमुकाम तौलिहवा–बहादुरगञ्जको २१ किमी सडक बिग्रिएर जीर्ण भएको छ। वर्षाले ठाउँ–ठाउँमा ठूलो खाल्डो पारेको छ। सडक हिलाम्मे भएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जिल्लाकै पुरानो मानिने तौलिहवा–बहादुरगंज सडक अझै पक्की हुन सकेको छैन। सो हुलाकी सडकको स्तरोन्नति कहिले नेपाल सरकार त कहिले भारतीय सरकारले गर्ने चर्चा हुन्छ तर अहिलेसम्म सडकको अवस्था सुधार भएको छैन। सडकको बीचमा पर्ने बर्गदीघाटको पुल सञ्चालनमा आएपछि सवारी चाप बढेको छ।

८ वर्षअघि ग्राभेल भएको सडक ठाउँ–ठाउँमा भासिएर दबेपछि साइकल र पैदयात्रुलाई समेत हिड्न मुश्किल पर्छ। सामान्य पानी पर्दा सडक हिलाम्य हुन्छ भने घाम लागेको बेला धुलाम्ये हुने महाराजगञ्जका विजय जैसवालले बताए। ‘बाटो यति खराब छ कि, मोटरसाइकलमा २१ किलोमिटरको यात्रा पार गर्न २ घण्टा बढी लाग्छ’ उनले भने।

यो सडकमा गाडी चलाउनै नसक्ने अवस्था आएको कपिलवस्तु यातायात समितिका अध्यक्ष ईनाम मुसलमानले बताए। ‘ प्रतिघण्टा २५/३० किमीको गतिमा सानो जीप गुडाउन पनि मुस्किल पर्छ', उनले भने। गाडीको पट्टा भाँचिने, टुटफुट हुने, दुर्घटना हुने खतरा भएकाले गाडी सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ।

यो सडकको स्तरोन्नतिका लागि ढिलाइ गर्न नहुने महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताए। ‘हुलाकी सडकलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ', प्रमुख खाँले भने ‘यसका लागि मैले पहल गर्नेछु।’

पश्चिमाञ्चन सडक डिभिजन कार्यालय नं. ५ ले बजेट अभावमा सडक मर्मत सम्भार गर्न नसकेको बताएको छ। सडक कार्यालयका प्रमुख ईन्जिनियर रमेशप्रसाद पौडेलले भने ‘बजेट अभावले सामान्य मर्मत गरी काम चलाउदै आएका छौं।’

जिल्ला समन्वय समितिले सो सडकको मर्मत सम्भारको जिम्मेवारी सडक डिभिजन कार्यालयको भएको भन्दै चासो राखेको छैन। सडक कालोपत्रे नहुँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगरसंग अन्य गाउँहरुको सम्पर्क पातलिएको छ। सडकको बिग्रिएकाले आवतवाजत गर्ने यात्रुहरु बर्षाको समयमा हिलाम्मै हुदै सदरमुकाम छिर्ने गर्छन्। सदरमुकाम केन्द्रित कार्यालय, क्याम्पस, विद्यालय तथा व्यापारका लागि आउने सेवाग्राहीहरु सडकको बीच तथा छेउछाउमा ठूला ठूला खाल्डा बन्दा हैरान भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.