काठमाडौँ: सधैँ उनको झोलामा एक थान बाक्लो डायरी हुन्छ। फुर्सद मिल्यो कि कुनै न कुनै ठाउँ घुम्छन्। यात्राका क्रममा मन छोएको विषयको छोटोमा टिपोट गर्छन्। साँझ तिनै विषय मनमा खेलाउँछन्। त्यही डायरी खोल्छन् र टिपोटलाई बिस्तृतमा लेख्छन्। यो क्रम दुई दशकयता निरन्तर चलिरहेको छ उनको। देश होस् या विदेश, उनको साथबाट डायरी र कलम छुट्दैनन्ऽ न त त्यसमा टिपोट गर्न नै भुल्छन्।
उनी अर्थात् साहित्यकार एवं नेपाल सरकारको परराष्ट्र मन्त्रालयको उपसचिवबाट निवृत्त भएका जय छाङ्छा। जर्मनीदेखि अमेरिका र अष्ट्रेलियादेखि कतार पुग्दासम्म उनको साथमै रह्यो। नयाँ ठाउँ घुम्ने र तिनलाई मिहिन किसिमले डायरीमा उतार्ने बानी छुटेन। उनले लेखेका डायरीबाट नियात्रा, कवितासंग्रह र पथप्रदर्शक पुस्तकहरू प्रकाशित गरेका छन्।
नियात्रा विधामा कलम चलाउने जयले कतारका लागि नेपाली कार्यवाहक राजदूत भएर दोहामा रहेका बेला लेखेको पुस्तक 'दोहाको सीधा उडान' नेपाली साहित्यकारहरूको आकर्षण मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको छ। मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्नु जयको साहित्यिक यात्राको एक खुट्किलो बनेको छ। उनको चर्चा हुन लागेको छ, साहित्य वृत्तमा।
पत्रकारिताले डोर्यायो लेखनमा
भोजपुरबाट स्नातक पढ्नका लागि काठमाडौँ आएका जय छाङ्छा त्रिचन्द्रमा अर्थशास्त्र विषय पढ्न थाले। उनलाई लेखनप्रतिको रुचिले पत्रकार बनायो। साथीहरूसँग मिलेर 'छहरा' मासिक निकाले। यो २०३५ सालतिरको कुरा थियो। हावा स्वतन्त्र बहेको छ भन्ने थाहा पायो भने त्यसलाई आफूले चाहेअनुसारको धारमा परिवर्तन गर्न खोज्ने पञ्चायत र राजतन्त्रको राज थियो। वामपन्थी दल र त्यसमा राजनीतिक आस्था भएकाहरू भूमिगत थिए भने कांग्रेसमा आस्थावानलाई पनि खुला राजनीति गर्नबाट वञ्चित थियो। यस्तो परिवेशमा जयमा वामपन्थी झुकाव थियो।
झन्डै चार दशक पुग्न लागेका ती दैनिकी जयको दिमागमा ताजा छन्। बानेश्वरमा रहेको थाहाखबरको कार्यालयमा लेखनमा डोर्याउने त्यो परिवेश यसरी सम्झिए उनले, 'पत्रकारिताले लेखनमा ल्यायो। त्यो पेसाले डायरी लेख्ने स्मरण गराउने काम गर्यो।’
'छहरा' जयलाई लेखनको बानी पार्यो। वामपन्थी विचारधाराप्रति सद्भाव राख्ने उनलाई भूमिगत कम्युनिष्ट पार्टीहरूका विज्ञप्ति आउन थाले। राजा र पञ्चायती शासनमा साम्यवाद, प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै राज्यविरुद्ध आवाज उठाउन र जनतालाई जाग्न आह्वान गरिएका हुन्थे, ती विज्ञप्तिमा। ‘अहिलेको एमाले, कोसी कोअर्डिनेशन केन्द्र, रोहित (नारायणमान विजुक्छे) लगायतका विज्ञप्ति आउँथे। ती विज्ञप्ति छाप्नुपर्छ भन्थेँ म।’
केही अंकमा विज्ञप्ति छापिए। ०३६ सालको आन्दोलन उत्कर्षमा पुग्यो। नेताहरूले के गर्दै छन् र कस्ता विज्ञप्ति निकाले भनेर ‘छहरा' मासिक खोज्नेहरू बढ्न थाले। त्यसपछि उक्त पत्रिकालाई साप्ताहिक रूपमा प्रकाशन गरियो।
पत्रिकाले जसै वामपन्थीहरूका विचार र सन्देशलाई बल पुग्ने बाटो अँगाल्यो त्यसैगरी राज्यको दवाब पनि बढ्न थाल्यो। दुई वर्षभन्दा बढी सहसम्पादकको भूमिकामा रहेका जयले जनता स्वतन्त्रताका लागि जागेको र शासक क्रूर बन्दै गएको समयमा पत्रकारिता गरेको अनुभव सुनाए, ‘प्रकाशन गर्नुपर्ने सामग्रीलाई पत्रिकाकै मान्छेले ब्लक गरिदिने, प्रकाशन गरे पनि अर्को अंकमा क्षमायाचना छाप्नुपर्ने।’ यस्तो अवस्थामा उनले भन्ने शब्दहरू जोसिँदै सुनाए, ‘स्थापित हुनका लागि जेल जान पनि तयार हुनुपर्छ भन्थे। सत्ताकै चाकरी गरेर हुन्न।’
अनि बाटो मोडियो
समकालीन पत्रिकामा प्रतिस्पर्धी थियो, ‘छहरा' मासिक र लेख्ने कर्ममा लगाएको थियो, जय छाङ्छालाई। उनमा लेखनको मात्र होइन स्वतन्त्र रूपमा आवाज उठाउनुपर्छ, जनताका पक्षमा लेख्नुपर्छ भन्ने जोस जगाएको थियो। अझै 'विद्रोही भएर जाने' जयको बाटोमा अन्य सहकर्मीले आँट गरेनन्। ‘निरन्तरको समाचार छपाइ र अर्को अंकमा क्षमायाचना छपाइले पत्रकारिता फाप्दैन भन्ने लाग्यो’, पत्रकारिता छोड्दाको खिन्नता झल्कियो उनको अनुहारमा।
जय जिउने जोहो गर्न भक्तपुर बालकोटमा पढाउन थाले। त्यही बेला उनलाई परराष्ट्र मन्त्रालयमा काम गरिरहेका साथीले सुझाव दिए, 'के टिचिङ गरिरा', लोकसेवा देऊ।' उनले साथीको सुझाव पछ्याए। ०३८ सालमा परराष्ट्र मन्त्रालयको खरदारमा नाम निकाले। त्यो समयमा विदेश घुम्न लाहुरे हुनुपर्थ्यो कि परराष्ट्रको जागिरे!
उनलाई दोस्रो विकल्पले दिने सुविधाले लोभ्यायो। लोकसेवामा नाम निकाले पनि उनलाई विगतले भने तर्साइरहेको थियो। व्यवस्था परिवर्तन होइन, झन् मजबुत भएको थियो। 'त्यतिबेला सरकारी जागिर खान पुलिसबाट चारित्रिक प्रमाणपत्र ल्याउनुपर्थ्यो। लेफ्टतिर लागेको मान्छे, त्यो प्रमाणपत्र ठीक भए छिरौँला, नभए ठीकै छ लागेको थियो', उनले हाँस्दै भने, 'घरतिर पुलिस आयो भने अलिकति मिलाएर दिनू, मेरो यो अवसर छ भनेको थिएँ तर त्यो बिग्रिएन र म परराष्ट्र प्रवेश गरेँ।' उनी कतारका लागि कार्यवाहक राजदूत रहेका बेला ०६९ सालमा नेपाल सरकारको उपसचिवबाट सेवानिवृत्त भए।
कतारका ‘८०९ दिन’
नयाँ ठाउँ पुग्यो कि त्यहाँको वस्तुस्थिति, बाटाका दिशा, त्यहाँका मान्छेका जीवनशैली डायरीमा उतार्नु जय छाङ्छाको रुचि हो, दैनिकी हो। अस्ट्रेलिया बसाइको ‘कङ्गारुको देशदेखि आइफेल टावरसम्म’, जर्मनी यात्राको ‘बादल रुँदाको जुरिच’, अमेरिकामा कार्यरत रहँदाको ‘बिब्लेँटो आकाशको धरातलतिर’, ‘अमेरिका यात्रा : अध्ययन र इलम’ अनि ‘यात्रामा कविता’ त्यही दैनिकीले सृजना गराएका पुस्तक हुन्। त्यसमा थपिएको छ, कतार बसाइको ‘दोहाको सिधा उडान।’
‘दोहाको सिधा उडान’ जय छाङ्छाको काठमाडौँबाट कतारको राजधानी दोहाका लागि उडेको दिनदेखि फर्किने दिनसम्मको विवरण हो। यसमा ८०९ दिनमा देखे भोगेको दोहाको दैनिकी छ। कतारका रमणीय स्थलहरूको वर्णन छ। कतारमा रहेका नेपालीहरूले भोगिरहेका दु:ख र गरिरहेका कर्मको व्याख्या छ। त्यसैले उनी यो नियात्रासंग्रहलाई ‘खोजपरक’, ‘प्रामाणिक तथ्यहरूको संग्रह’ भन्न रुचाउँछन्।
प्रशासक भएर दोहा उत्रिएका जयले त्यहाँ जति देखेका छन्, नेपालीका अनुहार देखेका छन्। देशको अर्थतन्त्र धान्न वैदेशिक रोजगारिका लागि कतार पुगेकामा ‘दुःखी नेपाली’ रहेको उनको बुझाइ छ। उनले त्यहाँ देखेको कुरा भने, ‘दोहामा दुःखी नेपाली पुग्छन्। पाँच लाख नेपालीमा १५/२० जना नेपालीहरूलाई नै ठगेर ऐस आराम गरिरहेका छन्।’
‘तलब भनेको बेलामा दिएन, घरमा मान्छे मर्दा पनि विदा दिएन, ओभर टाइम काम दिएन, बिरामी भएका बेला समयमा उपचार गर्न अस्पताल लगेन’, आदि इत्यादि गुनासा लिएर आफ्नो अगाडि उभिन पुगेका नेपाली कामदारका निन्याउरा अनुहार सम्झन्छन् जय। यी पुरुषका गुनासामा थप दुःख पाएका वास्तविकता हुन्थे, महिला कामदारका। ‘हिंसा भयो, साहुले दुःख दियो, साहुनी माइत गएको बेला हात समात्यो भनेर भागेर आउने गर्थे’, ती महिलाका भोगाइ सुनाए उनले।
‘कतारमा नेपालीहरू सात सय, आठ सय रियाल तलबमा काम गर्ने पनि छन्, जसको खाना मेसमा हुन्छ। खाना कसरी आउँछ र लगाउने कसरी आउँछ, केही थाहा हुदैन। त्यहाँ ५२ डिग्रीसम्मको गर्मीमा जोतिने नेपाली देखेको छु’, उनले भने।
त्यसो त टाइ-सुट लगाएर राजदूतावासका अधिकारीहरूलाई प्रलोभन दिन आउने नेपाली पनि हुन्थे। ‘फुर्तीफार्ती देखाउने औँलामा गन्न सकिने उनीहरू नेपालीलाई नै दु:ख दिएर कतारका चिल्ला सडमा कार गुडाउँछन्', उनी भन्छन्। ती दुःखी नेपालीका वेदना र दुःख दिने नेपालीका ऐस आरामका वास्तविता किताबमा लेखेका छन्। पुस्तकमा लेखेका कुराबारे उनी भन्छन्, 'हाइपोथेटिक कुराहरू होइनन्, प्रामाणिक कुरा हुन्।'
‘दोहाको सिधा उडान’मा कतार बसाइका धेरै कुरा राख्न नसकिएको जयको भनाइ छ। ‘सरकारी अधिकारीका रूपमा काम गर्दा भन्न नमिल्ने कुरा ‘अफ द रेकर्ड’मा नै थन्किएका छन्’, उनी कारण खुलाउँछन्। तर उनले कतारको ५२ डिग्री तापक्रममा काम गर्ने गरिब नेपाली, नशाका लागि शौचालय सफा गर्न प्रयोग गरिने केमिकल खाएर हृदयाघात भएर ज्यान गुमाउनेका पीडा र बाध्यता लेखेका छन्। चिल्ला सडक, समुद्रको छेउमा अवस्थित सुन्दर शहर, बालुवाका बीचमा अविश्वसनीय गुफा र समुद्रबीचमा रमणीय टापु रहेको कतारको वर्णनसँगै त्यहाँ पुगेका नेपालीका दर्द पुस्तकमा उतारेका छन्।
कुर्सीमा बस्दा साहित्यकार बिर्सन्थेँ
‘म जुन बेला ब्युरोक्रेट्सको कुर्सीमा बस्थेँ, साहित्यकारलाई अलग्गै राख्थेँ। जुन बेला लेख्न बस्थेँ, ब्युरोक्रेटको भन्दा भिन्न संवेदनाहरूलाई सँगाल्थेँ’, प्रशासक र साहित्यकारको परिचयलाई उनी यसरी अलग्गै राख्ने रहेछन्। प्रशासकको अदबका साथ उनले भने, 'कुर्सीमा बसेपछि आफ्नो पावर त देखाउनुपर्यो। त्यसलाई प्रयोग गर्नुपर्यो, नत्र सरकारले किन राख्छ त्यहाँ?'
प्रशासक भएको बेला उनले कतिपयलाई हप्काउनु र नेपाल पठाउने चिठी (डिपोर्ट) मा हस्ताक्षर गर्नुपर्यो, जुन साहित्यिकारको संवेदना साथमा लिएको भए हात काँप्थ्यो होला। साहित्यमा प्रवेश गर्दा सफ्ट हुन्थे उनी।
मरुभूमिको बालुवामा गोडा, सम्झनामा सगरमाथाको हिउँ
‘रमाइलो मान्दै बालुवामा लुक्न पुगेको खुट्टालाई बाहिर निकाल्दै पहाडमा चढ्ने कार्यमा लागिहरन्छौँ निरन्तर। केही मिनेटको चढाइपछि तेन्जिङ शेर्पा भएको घमण्ड गर्छौं। एडमन्ड हिलारी बनेको अभिनय गर्छौं। करिब पैँतीस फिट उचाइको बालुवाको पहाड कतारमा चढेपछि', कतारको सिंगिङ स्यान्ड डुन (गायकी बालुवा) चढ्दाको उत्साह यसरी लेखेका छन् पुस्तकमा।
जय छाङ्छा कतारको मरुभूमिका बालुवामा खुट्टा डुब्दा सगरमाथाको हिउँमा खुट्टा डुबाएको अनुभूति गर्छन्। कतारको बालुवा र गर्मीमा धरानको चारकोसे झाडी र काठमाडौँलाई घेरेर रहेका हरिया डाँडाहरूको तिर्सना आउँछ। आफू हुर्केको पहाड, खोँच, जंगल, खोला र नाला याद गर्छन्।
नियात्रा लेखक जुन ठाउँ जान्छ, सँगसँगै बोकेर जान्छ आफू हुर्केको माटो र हिँडेको बाटो। ‘कतै बूढी मान्छे देखे आफ्नै आमाको तस्वीर आँखामा आउँछ। कतै घुम्न जाँदा आफ्नो गाउँ सम्झनामा आउँछ। आफू जन्मेको भूमिभन्दा पर जान सकिन्न’, जयको अनुभव हो यो। उनी जुनसकै ठाउँ गए पनि आफू हुर्केको हावापानी र वातावरण बिर्सन नसकिने बताउँछन्।
जयको खासियत
जय छाङ्छा कतारको मसरुम मेसा गुफा घुम्न गएको कुरा लेख्छन्। उनी त्यो गुफाबारे इन्टरनेटमा खोजेकोदेखि लिएर गुफामा पुगेकोसम्मको विषयलाई मिहिन रूपले व्याख्या गर्छन्। बाटो बिर्सेर बरालिएको, मोटर गुडाउन भएको कठिनाइ, मरुभूमिको हपहप गर्मी र गुफाको फेदमा पुग्दाको चिसो अनुभव सबै लेख्छन्।
कापी, मोबाइल, पानी र ड्राइ फुड लिएर गएको कुरा पनि लेख्छन्। यसरी स-साना कुराबारे बिस्तृतमा लेख्नु आफ्नो नियात्रा लेखनको विशेषता र विभिन्नता रहेको बताउँछन् जय। यस्तो लेख्नुको अर्को पनि कारण रहेछ, भन्छन्, ‘भोलि आउने मान्छेलाई पनि सजिलो होस् भनेर सानसान कुरालाई नोट गर्छु।’
नियात्रा लेखनको वर्तमान 'ट्रेन्ड'प्रति असन्तुष्टि राख्दै उनी भन्छन्, ‘यहाँका दिग्गज साहित्यकार ठूल्ठूला कुरा लेख्छन्। फेब्रिकेटेड कुरा लेख्छन्। म सानासाना कुरालाई महत्त्व दिन्छु।’
‘तपाईं यहाँबाट रत्नपार्क जानुभयो। ठूलो बाटो त इन्टरनेटमा हुन्छ। तर रामेको चिया पसल कहाँनेर हुन्छ भन्ने लेख्नु पो लेखाइ हो त!', उनले उदाहरण दिए, 'रामेको चिया पसल, चौरासिया पान पसल कहाँ छन् भन्ने इन्टरनेटमा त देखाउँदैन, त्यो ठाउँमा त्यसको अस्तित्व पनि त छ नि!’
यिनै ससाना विषयमा लेखेको भनेर आलोचकहरूले भन्दा रहेछन्, ‘यो सानोतिनो कुरामा अल्मलिन्छ’, उनी भन्छन्, ‘सानो कुरा नै महत्त्वपूर्ण हुन्छ। मेरो धार अलिकति बेग्लै हुनु नै मेरो विशेषता हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।