काठमाडौं : तपाई फेसबुकको प्रयोग के का लागि गर्नुहुन्छ? च्याट गर्न? फोटो पोस्ट राख्न? अथवा अन्य उद्देश्यका लागि? जे होस्, हामीमध्ये अधिकांशले सामाजिक सञ्जाल फेसबुकलाई त्यसरी प्रयोग गर्दैनौं जसरी कवि एवं गीतकार दिनेश अधिकारीले गरे।
'यो सम्झिने मन छ म बिर्सु कसरी/तिमी नै भनिदेउ ए जाने निष्ठूरी…', 'तिमी यसै लजायौ म उसै धकाए, न बोल्यौ तिमीले न मैले बोलाए…' लगायत सयौं चर्चित गीतका सर्जक एवं कवितामा मदन पुरस्कार प्राप्त दिनेशले नेपाल सरकारको सचिवबाट सेवा निवृत हुनेबेलासम्म फेसबुक अकाउन्ट खोलेका थिएनन्।
उनलाई कवि एवं गीतकार भावेश भुमरीले फेसबुक अकाउन्ट खोल्न कर गरिरहे। अनि अधिकारीको नाममा फेसबुक अकाउन्ट खुल्यो। त्यसपछिको अनुभव दिनेशले शुक्रबार सुनाए, 'बाध्य भएर मैले फेसबुक अकाउन्ट खोले। त्यसपछि फोटो राख्न मलाई पनि मन लाग्यो, तर भात पकाइराखेको राख्न मन लागेन। भान्साको फोटो राख्न मन लागेन। अरु त्यस्तै पारिवारिक फोटो राख्न मन लागेन।'
सानैदेखि फोटोको विवरणसहित संगालेर राख्ने गरेका उनले फरक खालका फोटा राखे। 'पुराना फोटोका विवरण लेखेर राख्थे। त्यो विवरणसहित फोटोहरु राख्न थालिसकेपछि नजाँनिदो ढंगमा नजाँनिदो किसिमले त्यसलाई रुचाउनेहरुको जमात तयार भएछ', उनले फेसबुकमा फोटो राखेपछि आएका प्रतिक्रिया सम्झिए, 'भेट हुँदा भन्न थाल्नुभयो अर्को फोटो कहिले आउँछ। अनुज पुस्ताका साहित्य र संगीत पुस्ताका भाइबहिनीले भन्न थाले हैन दाइ यसलाई पुस्तक निकाल्नुपर्ने भयो।'
दिनेश अधिकारीलाई फेसबुकमा पछ्याउने नयाँ पुस्ताका साहित्यकारहरुको दबाब यति बढ्यो कि उनी किताब नै निकाल्न बाध्य भए। 'तस्बिरको कथा' नाम यस पुस्तक शुक्रबार भृकुटीमण्डपमा विमोचन भयो।
उनले किताबको सुरुमा पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं साहित्यकार विपी कोइरालासँगको फोटो राखेका छन्। त्यस्तै लक्ष्मीप्रसाद देवकोटासँग रुसमा खिचेको फोटोदेखि लिएर नारायणगोपालसँगका फोटाहरु संकलन गरेर ति फोटाका बारेमा सुन्दर किसिमको भोगाइ लेखेका छन्। किताबमा उनले साहित्यकार प्राध्यापक डा. अभि सुवेदीले भनेझैं आफूले तय गरेको यात्रा क्यामेरामा कैद गर्न सकेजति समेटेका छन्। सुवेदीले भने, 'यो जीवन्त फोठटोग्राफीको किताब हो। यसमा वर्तमान समयको प्रेमिल दस्तावेज छ।'
त्यस्तै संगीतकार एवं गायक प्रेमध्वज प्रधानले 'तस्बिरको कथा' किताबले आफ्नो विगत सम्झाइदिएको बताए। उनले भने, 'भूपी शेरचन मेरो साथी हो। उहाँहरु पाल्पा गएर अंगालो हालेर तस्बिर खिच्नुभएको रहेछ।' प्रधानले यस पुस्तकले आफूलाई पनि यस्तै किताब निकाल्न प्रेरणा दिएको बताए।
साहित्यकार एवं समालोचक महेश पौड्यालले 'तस्बिरको कथा'मा दिनेश अधिकारीको विविधताको परिचय पाइने बताए। उनले भने, 'पुस्तकमा अधिकारी राजा वीरेन्द्रसँग पनि छन् र नेकपा (माओवादी)का नेताहरुसँग पनि हुनुहुन्छ।'
नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले पाठकलाई 'तस्बिरको कथा' मार्फत अधिकारीले नौलो पुस्तक दिएको बताए। उनले भने, 'यसका कालजयी तस्बिरहरु छन्। यी महत्वपूर्ण तथा इतिहास बोकेका तस्बिर हुन्।'
बुक आर्ट नेपालले प्रकाशित गरेको १ सय २६ पृष्ठको 'तस्बिरको कथा' पुस्तकको मूल्य ५ सय ५ रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।