|

लहान : पछिल्लो चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढीले सिरहा र सप्तरी जिल्लामा ठूलो क्षति पुर्याएको छ। सप्तरीको खाडो, जिता, महुली लगायत नदीमा आएको बाढीको पानीले जिल्ला सदरमुकाम राजविराजसहित जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्।

राजविराज नगरको खर्साल टोल, पानी ट्याङ्की, मदननगर, रुपनी रोड, कञ्चनपुर रोडलगायत बस्तीमा चार फिटसम्म पानी पसेको छ भने सिरहा रोड, अदालत रोडमा तीन फिटसम्म बाढी बगिरहेको छ।

जिल्ला प्रशासन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला अदालत, कृषि विकास बैंक, जिल्ला कृषि विकास कार्यालय, उच्च अदालत राजविराज इजलाश क्षेत्र डुबानमा परेको छ। 

वर्षासँगै आएको बाढीले सप्तरीका विभिन्न ठाउँमा गरी करिब पाँच सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। स्थानीय जिता नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका ५ कुसहा र बनरझुलाको बस्तीमा बाढी पसेपछि करिब तीन सय ५० परिवारलाई सडक तथा सुरक्षित स्थानमा सारिएको छ।

सप्तकोशी नदीको पानी पसेर हनुमाननगर कंकालिनी नगरपालिका ७ र १४  मल्हनियाँ टोलको तीन सय १० घर डुबानमा परेका छन् भने ५० परिवार विस्थापित भएका छन्।

बाढीले तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब चार सय घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बाढीले बाँध भत्काउँदा बिरौल, देउरीभरुवा, डुमरी, शिवथान, फर्सैठ, पकरी, पौवा, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र १५ का बस्ती जलमग्‍न भएका छन्।

बाढीले बगाएर बिहीबारदेखि हराइरहेका राजविराज नगरपालिका १५ देउरीभरुवाका ६० वर्षीय डोमी यादव अझै भेटिएका छैनन्।

सिरहामा पनि उस्तै अवस्था 

लगातार परेको वर्षात्पछि स्थानीय डिम्मा खोलामा आएको बाढीले सिरहाको कर्जन्हा गाउँपालिका ६ गौताडीस्थित सामुदायिक विद्यालय भत्काएको छ। डिम्मा खोलामा आएको बाढी गाउँ पसेपछि स्थानीय जनता आधारभूत विद्यालयको पश्चिमपट्टिको कम्पाउण्ड पर्खालसहित भत्काएको गौताडीका पूर्व गा.वि.स. अध्यक्ष रामचन्द्र ठाकुरले जानकारी दिए।

पूर्व अध्यक्ष ठाकुरका अनुसार बाढीको पानी विद्यालयको कार्यालयसँगै स्टोर रहेको कोठामा पस्दा महत्वपूर्ण कागजातहरु नष्ट भएका छन्। बाढीको पानी स्थानीय पासवान टोलका करिब तीन दर्जन घरमा पसेर करिब चार फिटसम्म जमेको छ। १५ वटा जति घर भत्किएका छन्। 

बाढीले टापु बनायो गाउँ

गौताडी गाउँलाई कर्जनहासँग जोड्ने स्ल्याव पुल दुबैतिरबाट बाढीले कटान गरी सडक भत्काउँदा आवतजावत नै बन्द भएको छ। गाउँदेखि पूर्व र पश्चिमतिरबाट बग्ने डिम्मा खोलाले गाउँ जोड्ने स्ल्याव पुलको दुवै भाग कटान गरी सडक बगाएपछि गौताडी टापुको रुपमा परिणत भएको छ।

तीन-चार फिट पानीमा हेलिएर मुस्किलले हिंड्न सकिए पनि साइकलसम्म चलाउने बाटो छैन। लहान नगरपालिकाको १, २, ८ नम्बर वडा अन्तर्गतका टोलहरुमा बाढीले वितण्डा मच्चाएको छ।

लहान नगरपालिकाको १ नम्बर वडाका पूर्व पश्चिम सडक किनारमा रहेका पसल, ग्यारेजमा पाँच फिटसम्म पानी पसेको छ भने ८ नम्बर वडाको शान्ति टोलका करिब ३० घरपरिवार पानीले घेरिएका छन्।

‘स्थानीय बासिन्दाको चन्दा सहयोगमा बनाइएको बस्तीसम्मको सडक पानीमा डुबेपछि रातीदेखि नै आवतजावत बन्द भएको छ’ स्थानीय उपेन्द्र प्रसाद साहले भने।  बाढीको पानीले सिरहाका ठाउँ ठाउँमा बिजुलीका खम्बा ढलेको, बिजुलीको तारमाथि रुख ढलेकाले जिल्लाका विभिन्न ठाउँमा शनिबार बिहानदेखि विद्युत अवरुद्ध भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.