|

लहान : पछिल्लो चार दिनदेखि लगातार परेको वर्षाले सिरहाका कमला, गागन, बलान जस्ता ठूला नदीका तटीय क्षेत्रमा बसोवास गर्नेहरुको विचल्ली भएको छ। बाढीको पानी घर घरमा पसेर कच्ची घरहरु बस्नै नसक्ने भएपछि स्थानीय पीडितहरु दुई तले पक्की घर भएका छिमेकीकोमा आश्रय लिएर बस्न बाध्य छन्।

 सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ औरही गाउँका करिब तीन दर्जन घरमा पानी पसेर डुबेपछि छिमेकीको घरमा आश्रय लिएको स्थानीय भोला यादवले जानकारी दिए। स्थानीय गागन नदीको बाढीसँगै लगातार भइरहेको वर्षाले स्थानीय बासिन्दाको बिचल्ली बनाएको यादवले बताए।

 जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विश्वमणि पाखरेलका अनुसार जिल्लाको बेलहा, सुखीपुर, औरही, कल्याणपुर लगायतका ठाउँहरुमा डुबानमा परेकाहरुको उद्धार गरी स्थानीय  सामुदायिक भवन र विद्यालयमा राखिएको छ।

दक्षिणी भेग पूरै डुबानमा हुलाकी सडक अवरुद्ध

वर्षातले सिरहाको दक्षिणी भेगमा पर्ने हरकट्टी, बरियारपट्टि, सुखीपुर, इँटाटार, जानकीनगर, सन्हैठा, औरही लगायतका ठाउँहरु डुबानमा परेको भएपनि मानवीय क्षति भने नभएको जनाइएको छ। यद्यपि मातहतका प्रहरी युनिटलाई अन्य सुरक्षा निकायसँग समन्वय गरी हाइएलर्टमा राखिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए।  

बरियारपट्टिदेखि सिरहा सदरमुकाम सम्मको करिब १० किलोमिटर औरही गाउँपालिका १ हरिकट्टी दरहैया, गागन, औरही, गणेशपुर र सिरहा सदरमुकाम नजिकै रहेको औरहा गाउँ नजिक बाढीले हुलाकी सडक भत्काउँदा मोटरसाइकल, हलुका सवारी सधान पनि नचल्ने गरी आवागमन बन्द भएको छ।

सुखीपुर नगपालिका ८ सुखीपुर बजारसँगै पूर्वपट्टि स्थानीय बाबुराम खोलामा आएको बाढीले सडकमा बनाईएको स्ल्याव कल्भर्ट नजिकै करिब २५ मिटर खण्ड सडक बगाउँदा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध भएको छ।

उता, सिरहाको पश्चिमी क्षेत्रमा पर्ने कर्जन्हा गाउँपालिका ६ गौताडी गाउँसम्म पुग्ने सडकमा बनाइएको स्ल्याव कल्भर्ट स्थानीय डिम्मा खोलाले भत्काएपछि गाउँ टापुको रुपमा परिणत भएको छ। गौताडीका पूर्वगाविस अध्यक्ष रामचन्द्र ठाकुरका अनुसार बाढीको पानीले स्थानीय पासवान टोलका १५ वटा जति घर भत्किएका छन् भने जनता आधारभूत विद्यालयको पश्चिमपट्टिको कम्पाउण्ड पर्खालसहित भत्काएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बाढी र वर्षाको कारणले अहिलेसम्म जिल्लाका विभिन्न भागमा गरी पाँचवटा घर पूर्ण रुपमा क्षति भएको र अन्य ठाउँको विवरण संकलन भइरहेको छ। 

जिल्लाका बाढी प्रभावितहरुलाई राहतको विषयमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठसँग बुझ्न खोज्दा मोबाइलमा सम्पर्क नै हुन सकेको छैन। नेपाल रेडक्रस सोसाइटी सिरहाका कार्यक्रम अधिकृत अशोककुमार यादवले आफू घरायसी कामले कार्यालय बाहिर रहेकाले केही बताउने अवस्थामा नरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.