|

लहान : सिरहाको लहान नगरपालिका वडा नं. १ र ३ का ४७ घर परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ। लायन्स क्लव अफ लहान सिटी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान र सरगम एफ.एम.को समन्वयमा स्थानीय ४७ घर परिवार बाढी पीडितलाई एक÷एक थान त्रिपाल,  चिउरा, मुरही, नुन, चाउचाउ लगायतका सामग्री वितरण गरिएको लायन्स क्वलका निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरीले जानकारी दिए।

जिल्ला दैवी प्रकोप उद्धार समिति सिरहाको सोमबार सम्पन्न बैठकले जिल्लाका बाढी प्रभावितहरुलाई स्थानीय सुरक्षा निकायसँगको समन्वयमा सरकारी तथा गैरसरकारी संस्थाहरुले उद्धारसँगै राहतका काम गर्न आह्वान गरेपछि जिल्लाका विभिन्न बाढी प्रभावित क्षेत्रमा राहत वितरण थालिएको छ। त्यसअघि पनि लायन्सले लहानका ४० घर परिवार बाढी पीडितहरुलाई राहत सामग्री वितरण गरेको थियो।

जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिका कार्यालयले सिरहा- ६ बसबिट्टा गाउँका बाढी प्रभावितहरुलाई चार क्विण्टल चिउरा, एक क्विण्टल मुरही, एक हजार प्याकेट चाउचाउ, दालमोट र मट्टितेल वितरण गरेको छ भने कल्याणपुर नगरपालिका, सुखीपुर नगरपालिका कार्यालयले आफ्नो क्षेत्रका वर्षात् र बाढी प्रभावितहरुलाई खानेकुरासहितका राहत सामग्री वितरण गरिएको जिल्ला समन्वय समिति सिरहाले जनाएको छ। 

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार सिरहाको इटारी प्रसाहीका ४०, सखुवा नन्कारकट्टीका ४५,  औरहीका एक सय ४० सहित कल्याणपुर, बसबिट्टा, सारश्वर, बेलहामा बाढी प्रभावितहरु बढि छन्। 

सिरहामा बाढीले २५ स्थानका २ हजार १ सय २० परिवार पूर्ण प्रभावित भएको जनाइएको छ। बाढीले सिरहाको लहान, औरही, निर्दना, सारश्वर, बसबिट्टा, माडर, मलहनिया गमहरिया, सुखचैना, खिरौना, लगडीगोठ, लगडीगदियानी, लक्ष्मिनीया, सन्हैठा, हकपाडा, कर्जनहा, गौताडी, भोक्राहा, भेडिया, चतरी, इटाटार, बेलहा, मझौलिया, अर्नामा प्र.रा. बढी प्रभावित रहेको नेपाल रेडक्रस सोसाइटी सिरहाले जनाएको छ।

सप्तरीमा पनि थालियो राहत वितरण

उता, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ टिकुलिया टोलका ४५ घर परिवार बाढी पीडितलाई जिल्लाका कलाकर्मीहरुले राहत वितरण गरेका छन्। जननी फिल्मस् प्रा.लि.को पहलमा बाढीपीडितलाई मुरही, चिउरा, चाउचाउ र बिस्कुट उपलब्ध गराइएको हो। पाँच दिनसम्म लगातार परेको वर्षात् र बाढीले सप्तरीको विभिन्न गाउँका गरी करिब पाँच हजारभन्दा बढी कच्ची घर ढलेर बगाएको अनुमान गरिएको छ। 

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार करिब चार हजार परिवार विस्थापित भएका छन्। जिल्लाको दक्षिणी भेगमा पर्ने राजविराज, तिलाठी, कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह, सखरपुरा, बैरयाही सबैभन्दा बढी प्रभावित छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.