|

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा ५ दिने भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतको रुपमा महरा सोमबार ११ बजे चीन प्रस्थान गरेका हुन्। भदौ ३ गतेसम्म हुने चीन भम्रणका क्रममा महराले ४ उद्देश्य तय गरेका छन्। 

उपप्रधानमन्त्री महराले चीन भ्रमणका लागि प्रस्थान गर्नुपूर्व त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग गरेको कुराकानीका उनले आफ्ना उद्देश्य यसरी खुलाए। 

१. दुई देशबीचको सम्बन्ध विस्तार

चीन भ्रमणको पहिलो उद्देश्य चीन-नेपालबीचको सम्बन्ध विस्तार भएको महराले बताएका छन्। 'प्रधानमन्त्रीले दुई छिमेकी देश (चीन र भारत) सँगको सम्बन्ध विस्तारको लागि हामी दुई उपप्रधानमन्त्रीलाई विशेष दूतको रुपमा भारत र चीन पठाउन लाग्नुभएको हो, आज म चीन जाँदैछु, मेरो पहिलो उद्देश्य दुई देश बीचको सम्बन्ध अझ विस्तार गर्नेमा केन्द्रित हुनेछ', उनले थपे, 'सम्बन्ध विस्तार गर्नु भनेको यसअघि सम्बन्धमा ब्रेक भएको भनेको होइन, सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने हो।'

२. उच्च पदस्थ अधिकारीलाई नेपाल भ्रमणको निम्तो

महराको चीन भ्रमणको अर्को उद्देश्य चीनका राष्ट्रपति लगायतका उच्च अधिकारीलाई नेपाल भ्रमणाको निम्तो दिनु हो। 'मैले चीनका उच्च पदस्थ अधिकारीलाई नेपाल भ्रमणको निम्तो दिने छु, कहिले आउने आउने वा नआउने भन्ने विषय उहाँहरुको कुरा हो' महराले भने।

महराले चीनका राष्ट्रपतिको नेपाल भ्रमणको लागि राष्ट्रपति विद्या भण्डारीले समकक्षी सी जीङ्पीङ्लाई पठाएको पत्र पेश गर्नेछन्। त्यस्तै प्रधानमन्त्री प्रचणडले समकक्षी ली खछ्याङलाई पठाएका आमन्त्रणा पत्र पेश गर्ने छन्। 

३. नयाँ सरकारको नीति तथा कार्यक्रमबारे जानकारी 

उपप्रधानमन्त्री महराले नयाँ सरकार आइसकेपछिका सरकारका नीति तथा कार्यक्रममा प्राथमिकताका विषयमा पनि जानकारी दिने बताए। सरकारको प्राथमिकता संविधान कार्यान्वयन, तराई केन्द्रित दलले उठाएका मागको विषयमा वार्तामार्फत समाधान, शान्ति प्रक्रियाका बाँकी काम पुरा र भूकम्पपछिका पुन:निर्माण र राहत वितरण भएका भन्दै त्यस विषयमा जानकारी गराउने महराले बताए। 'सरकारको प्राथमिकताका विषयमा चासो हुनसक्छ, त्यस विषयमा जानकारी गराउँदै सहयोगको अपेक्षा समेत राखिने छ' उनले भने।  

४. यसअघि दुई देशबीच भएका सहमति कार्यान्वयन 

उपप्रधानमन्त्री महराले यसअघि नेपाल चीनबीच भएका सहयोग आदन-प्रदान लगायत सम्झौताको विषयमा पनि कुरा उठाउने बताए। 'यसभन्दा पहिले भएका राम्रा सम्झौताका कार्यान्वयनको विषयमा पनि छलफल गर्नेछु', उनले भने। सन्धी सम्झौताका विषयमा पछि छुट्टै कुरा हुने भन्दै उनले अहिले डिटेलमा नजाने बताएका छन्। साथै महराले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको विषय पनि उठाउने र गर्ने कामका विषयमा पनि छलफल गर्नेछन्।  

भेटका विषयमा महरा अनभिज्ञ

चीन भ्रमणको क्रममा को कोसँग भेट गर्ने भन्ने अहिले नै तय नभइसकेको उपप्रधानमन्त्री महराले बताए। यद्यपी दुई उच्च पदस्थ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यतालिका रहेको उनले बताए। 'को-कोसँग भेट हुने हो मलाई थाहा छैन, कार्यतालिका मेरा हातमा आएको छैन, गएपछि आउला, दुई दिन भेटघाटमा बिताउने छु', महराले भने। 

महरा सहित प्रराष्ट्र मन्त्रालयका सह-सचिव झविन्द्र अर्याल चीन भ्रमण गएका छन्। भदौ ३ गते नेपाल फर्कने कार्यक्रम छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.