|

भक्तपुर :  भक्तपुरका चोक चोकमा बिहानै यम्वोःद्यो ठड्याएसँगै आइतबारबाट धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा सुरु भएको छ। आठ दिन विभिन्न जात्राका साथ मनाइने इन्द्रजात्राको पहिलो दिन भक्तपुरका विभिन्न चोक चोकमा सानो सानो लिंगो ठड्याइन्छ। जसलाई स्थानीय नेवारी भाषामा यम्वोःद्यो भनिन्छ।

यम्वोःद्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्द्रको प्रतिकको रुपमा लिईन्छ।  धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार स्वर्गका राजा इन्द्रकी आमा बसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए। पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैचामा परिजात फूल टिप्दै गरेको बेला राक्षसहरुले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे।

त्यसैको प्रतिक भक्तपुरमा यम्वोःद्यो ठड्याउने प्रचलन रहेको हो। संस्कृतिकर्मी ओम धौभडेलका अनुसार जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच युद्ध भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किंवन्दती रहेको छ। धार्मिक पूजाआजासहित शनिबार भक्तपुरको इताछे., तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सूर्यमढी, खौमा, इताछें लगायतका स्थानहरुमा यम्वोःद्यो ठड्याइएको छ।

भक्तपुरमा आठ दिन विभिन्न सांस्कृतिक जात्राका साथ इन्द्रजात्रा मनाइन्छ। पहिलो दिन यम्वोःद्यो ठड्याइन्छ भने दोस्रो दिनलाई दिकु भन्निछ। सो जात्राको कुनै कार्यक्रम हुँदैन। इन्द्रजात्राको तेस्रो दिन खौमास्थित इन्द्रायणी देवीलाई साँझ पख विभिन्न बाजागाजा, दाफा भजनसहित इन्द्रदहले समेत परिचित सिद्धपोखरीमा लगिन्छ यो दिन इन्द्रायणी देवीलाई सिद्धपोखरीको आधा भाग मात्र परिक्रमा गराई विधिवत पूजा गरिन्छ।

 त्यसरात देवीलाई त्यही राखिन्छ र भोलीपल्ट अथवा चौथो दिनमा सिद्धपोखरीको बाँकी भाग परिक्रमा गराएर साँझ पुनः खौमास्थित मन्दिरमा ल्याईन्छ। यसदिन सिद्धपोखरीमा ठूलो मेला लाग्दछ। यसैदिन यम्वोःद्यो ठड्याएको स्थानमा होम गरी प्रसादको रुपमा सम्येबजी बाँड्ने र खाने प्रचलन रहेको छ।

पाँचाँै दिनलाई पनि दिकु भनिन्छ। यसदिन पनि जात्रा शुन्य हुन्छ। इन्द्रजात्राको छैंटौं दिन साँस्कृतिक महत्वको मुपात्र जात्रा शुरु हुन्छ। मुपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भिमसेन मन्दिरमा दुईवटा याँ मता (आकाश दिप) बालिन्छ। यसदिन तचपालस्थित सFला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराइन्छ।

मुपात्र राक्षसको प्रतिक मानिन्छ। पुराणअनुसार देवराज इन्द्रका छोरा जयन्तलाई पारिजात फूल टिपेको आरोपमा राक्षसहरुले समातेर बाँधेर राखेपछि देवताहरुले युद्ध गरेर राक्षसहरुलाई पराजित गरी राक्षसलाई नगरपरिक्रमा गराएको प्रतिकस्वरुप मुपात्र जात्रा निकालिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए। जात्रामा मुपात्र बन्ने व्यक्तिले मुपात्र बनेवापत आजन्म जातपतिया तथा भातपानी नचल्ने दण्ड भोग्नुपर्ने मान्यता रहेको छ। तर पनि मुपात्र जात्रा आज पनि उतिकै हर्ष उल्लासका साथ मनाइन्छ।

यस जात्रामा मूपात्र प्रमुख राक्षस र धिःचा नामक अन्य दुई जना सहायक राक्षससहित तीनजनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृगांरपटारका साथ तरवार समात्न लगाई जात्रामा भक्तपुर नगर पुरै परिक्रममा गराउने प्रचलन छ।  मुपात्रहरुलाई नगर परिक्रमा गराउने बेला भक्तपर नगरको टोलटोलमा ठड्याइ राखेको यम्वोद्योलाई तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ।

सातौ दिनमा चोछें टोलको छुमा गणेशलाई दरवार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गराउन लग्ने परम्परा रहेको छ। गोल्मढीका मानन्धर समुदायले यसदिन तलेजु भवानीको भक्तिभाव स्वरुप याँमता बाल्ने गर्दछ।

आठौ दिन अथवा जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन स्थानीय टौमढी टोलमा रहेको भैरवलाईमा गुठी संस्थान कार्यालयबाट ल्याईएको सरकारी पुजाअर्चना सम्पन्न गरी सकेपछि बंशगोपाल मानन्धरहरुले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुईवटा याँमता बालेर भैरवको जात्रासँगै नगर परिक्रमा गराइन्छ।

भक्तपुरको इन्द्रजात्राको अर्को आकर्षण पुलुकिसी जात्रा हो। भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाFसको मान्द्रो माथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुFढ समेत राखी पुलुकिसी तयार गरिन्छ। सो पुलुकिसीलाई चारजनाले बाँधमा बोकेर नगरपरिक्रमा गराइन्छ भने पुलुकिसी भित्र एक जना बसेर घण्टा बजाईन्छ।

पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पुजा गर्न लगाई जात्रा सुरु गरिन्छ। जात्राको क्रममा पुलुकिसीलाई बंशगोपालमा धान खुवाउने, दरवार स्क्वायरमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ। देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा मानिन्छ। जात्राको क्रममा पुलुकिसीको सुढंले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वास अनुसार जात्राको दिन पुलुसिकी आउFदा सुंढले छुन्छकी भनी मानिसहरु परपर बस्ने गर्दछ। 

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरुलाई कुनै बात नलाग्ने स्थानीय वासिन्दाहरु बताउँछ। त्यही भएर पुलुकिसी जात्रा बीच बाटोमा पुगेपछि मात्र यसदिन मुपात्र जात्रा सुरु गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.