|
स्वतन्त्र उम्मेदवार भीमबहादुर स्याङ्तान

  • महेश्वर अधिकारी

बारा : टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले बाराका १८९ जना नेता-कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका छन्। पार्टीको निर्णयविपरीत वडाध्यक्षको उम्मेदवार परिवर्तन गरिएको भन्दै निजगढ नगरपालिका वडा नं. ६ का एमाले नेता-कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टीका वडा कमिटी अध्यक्ष भीमबहादुर स्याङ्तानको नेतृत्वमा पूर्व वडाध्यक्ष शंकर शिवाकोटी, केशवप्रसाद अधिकारी, युवा संघ बाराका सचिव भीमप्रसाद सापकोटा, नगर कमिटी सदस्य आइतमान तामाङ, वडा सदस्य इन्द्रबहादुर स्याङ्तान, पूर्व जिल्ला सदस्य गणेश लामा, क्षेत्रीय कमिटी सदस्य तीर्थ गौतम, युवा संघका पूर्व वडाध्यक्ष राजकुमार फुँयाललगायतले राजीनामा दिएका हुन्।

पहिले स्याङ्तानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएकोमा निर्णय उल्ट्याउँदै नवप्रवेशी कुशबहादुर थापालाई टिकट दिइएको भन्दै उनीहरु असन्तुष्ट बनेका हुन्। निर्णय सच्याउन ज्ञापनपत्र बुभाउँदा पनि नसच्याएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उनीहरुले जनाएका छन्। 
पार्टीबाट राजीनामा दिएका स्याङ्तानले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

यस्तै जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा पनि वडाध्यक्षमा एमालेबाट बागी उम्मेदवारी परेको छ। स्थानीय स्तरमा सक्रिय एमाले नेता उद्धब गौतमले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। गौतम २०५४ सालको स्थानीय निर्वाचनका निर्वाचित वडाध्यक्षसमेत हुन्। गौतमले आफ्ना प्रतिनिधि टंकप्रसाद चौलागाईँमार्फत उमेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.