|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगका पदाधिकारीले प्रदेश नम्बर २ को स्थानीय तह तेस्रो चरणको निर्वाचन र मंसिरमा तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी गराएका छन्।

राष्ट्रपति निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको नेतृत्वमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले भेटेर निर्वाचन तयारीबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका हुन्।

आयोगका प्रवक्ता नवराज ढकालले भेटबारे विज्ञप्तिमा उल्लेख गरेका छन्, 'भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूलाई प्रमुख आयुक्त यादवले स्थानीय तहको पहिलो र दोस्रो चरणमा सम्पन्न भएको निर्वाचन तथा आगामी असोज २ गते प्रदेश नं. २ मा सञ्चालन हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको तयारीका बारेमा अवगत गराउनुभयो।'

प्रमुख आयुक्त यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भएको, संसदले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ पारित गरेकोले नियमावली, निर्देशिका तथा कार्यविधि निर्माण कार्य भइरहेकोबारे जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै प्रमुख आयुक्त डा. यादवले मंसिर १० र २१ गते प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउन आयोग तयारीमा रहेको जानकारी राष्ट्रपतिलाई गराएका थिए।

राष्ट्रपति भण्डारीले दुई चरणको स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिको भनाइ उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, 'असोजमा हुने प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन तथा आगामी मंसिरमा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनका साथसाथै राष्ट्रिय सभा सदस्य, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।'

राष्ट्रपति भण्डरीले स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले देशमा राजनीतिक स्थायित्व कायम हुने आशा राखेको आयोगका प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.