|

काठमाडौं : देशभर व्यक्तिगत तथा संस्थागत रूपमा १६ लाखले कर तिर्ने गरेका छन्। आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म कुल १६ लाख २३ हजार ७८ व्यक्ति तथा संस्था करको दायरामा आएका छन्। 

विभागका अनुसार कुल करदातामध्ये व्यावसायिक लेखा नम्बर (प्यान) लिने करदाता सबैभन्दा बढी छन्। अहिलेसम्म नौ लाख ३४ हजार छ सय ५८ जनाले प्यान नम्बर लिएको विभागको तथ्यांक छ। त्यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता छ लाख ८ड हजार चार सय २० छन्।

व्यावसायिक स्थायी लेखा नम्बर लिनेमध्ये मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ एक लाख ७६ हजार आठ सय करदाता रहेको विभागले जनाएको छ। अन्तः शुल्क तिर्ने करदाताको संख्या ५४ हजार ६ सय ५७ छ।

देशको कुल राजस्व संकलनमा देशभित्रैका करदाताबाट उठाइने करको महत्वपूर्ण योगदान रहेको विभागले जनाएको छ। गत आर्थिक वर्षमा मात्रै विभागले यस्ता करदाताबाट विभिन्न शीर्षकमा दुई खर्ब ५८ करोड रुपैयाँ कर संकलन गरेको जनाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) बाट भने ६१ अर्ब १२ करोड र अन्तः शुल्कमार्फत ४७ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

स्वास्थ्य सेवा करमार्फत सर्वसाधारणले ८६ करोड रुपैयाँ बुझाएका छन्। यस्तै शिक्षा सेवा शुल्कमार्फत ७३ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.