|

वीरगञ्‍ज : २ असोजमा हुने स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि पर्सा जिल्लामा तोकिएमध्ये भारतसँग खुला सीमा जोडिएका ७३ वटा मतदानस्थललाइ सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ। 

पर्सा जिल्लामा कुल १ सय ६७ मतदानस्थल  तोकिएका छन्। तीमध्ये सुरक्षाको दृष्टिकोणले ७३ वटालाई अति संवेदनशील, ७९ वटालाई संवेदनशील र बाँकी १५ वटालाई सामान्य मतदानस्थलका रुपमा निर्धारण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३ वटा मतदानस्थललाइ अति संवेदनशील मतदानस्थलका रुपमा विश्लेषण गरिएको पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले जानकारी दिए।

पौडेलका अनुसार ठोरी, बेल्वा, चोर्नी, जगरनाथपुर, भेडिहारी, जानकीटोला, प्रसौनी, सोलखपुर, लम्हरीया, हरिहरपुरवीर्ता, कटीबलुवा, पिडारी गुठी, परशुरामपुर, सबैठवा, धोरेका साथै वीरगन्ज महानगरका छपकैया, इनर्वा, नगवा, भेडियाही, लक्ष्मणवा, अलौं, सिर्सिया लगायतका स्थानमा तोकिएका मतदान स्थलहरुलाइ अति संवेदनशील मतदानस्थलका रुपमा मानिएको हो।

खासगरी भारतीय सीमासँग जोडिएका स्थानमा रहेका सबै मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रुपमा विश्लेषण गरिएको छ, निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सीमापारिबाट असामाजिक र गलत प्रवृतिका मान्छे चुनावमा नेपालमा प्रवेश नगरोस् भन्ने उदेश्यले ती मतदानस्थललाई अतिसंवेदनशील क्षेत्र ठानिएको छ।

महानगर क्षेत्रमा भने मदिराका पसल र होटल बढी भएका स्थानमा रहेका मतदान स्थलहरूलाई अतिसंवेदनशील क्षेत्र मानिएको भन्दै उनले भने, ‘आसन्न निर्वाचनमा सुरक्षाको सवालमा जिल्ला भित्रबाट कुनै त्यस्तो चुनौती छैन, सीमापारिबाट आपराधिक र असामजिक प्रवृतिका मान्छेहरु प्रवेश गर्न सक्छन कि भन्ने मात्र चुनौती छ।’  तर सीमापारी भारतका सुरक्षा अधिकारीहरुले आसन्न निर्वाचनमा पूर्ण सहयोग गर्ने आश्वासन दिएकाले पर्सामा निर्वाचनका बेला सुरक्षाका सवालमा खासै त्यस्तो चुनौती नहुने विश्वास आपूmहरुले लिएको पनि निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

निर्वाचन सुरक्षाका लागि कति खटिए सुरक्षाकर्मी?

आसन्न स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी  ३ हजार ८ सय सुरक्षाकर्मी परिचालन भएका छन्।  २ असोजको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लामा नेपाल प्रहरी मात्रै २ हजार ३ सय ७५ जना परिचालन गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।  पर्सा जिल्लामा अहिले ९ सय ३८ जना मात्र नेपाल प्रहरी कार्यरत रहेको भन्दै प्रहरी उपरीक्षक गिरीले चुनावका लागि अपुग १ हजार ४ सय ३७ जना नेपाल प्रहरी, अन्य प्रदेशबाट झिकाइएको  बताए।

यस्तै, निर्वाचनका लागि पर्सामा सशस्त्र प्रहरीका तर्फबाट १ हजार चार सय २८ जना जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुलीले जानकारी दिए।

पर्सामा अहिले ६ सय ६३ सशस्त्र प्रहरी कार्यरत रहेकाले चुनावका लागि अपुग ८ सय ६५ सशस्त्र प्रहरी अन्य प्रदेशबाट झिकाइएएको सशस्त्र प्रहरी नायव उपरीक्षक पराजुलीले बताए।  पर्साका अधिकांश गाउँहरु भारतको सिमानासँग जोडिएको कारण चुनावका लागि विशेष सुरक्षा रणनीति बनाएर उच्च सतर्कता अपनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा दत्त पौडेलले जानकारी दिए। सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.