विवाद बढेपछि निर्वाचन अधिकृत फेरिए

|

रमेश तिमलसिना-

    रौतहट : रौतहटको गरुडा नगरपालिकामा अझै पनि मतगणना हुन सकेको छैन। विवादको कारण बुधबार बिहान १० बजेदेखि स्थगन भएको मतगणना दलहरुबीच सहमति हुन नसक्दा अझै पनि मतगणना कार्य हुन नसकेपछि निर्वाचन आयोगले निर्वाचन अधिकृत नै फरिदिएको छ।

    पहिलेका निर्वाचन अधिकृत नवीनकुमार घिमिरेलाई फेरेर रौतहट जिल्ला अदालतका श्रेस्तेदार चिन्तामणि शर्मालाई पठाइएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए।

    गरुडा नगरपालिका वडा नं. ३ मा १ मतको अन्तरले नेपाली कांग्रेससँग नेकपा माओवादी पराजित भएको विषयलाई लिएर विवाद भएको थियो। नेकपा माओवादीका गरुडा नगरप्रमुख उम्मेदवार विपिन जयसवालले सो वार्डको पछिल्लो ठेलीको मतपत्र पुन गणना गर्न माग गरेका छन्।

    मतगणना कर्मचारीले सो वार्डको नतिजालाई पहिले बराबरी भनेको र फेरि केहीछिनपछि माओवादी एक मतले पराजित भएको जनाएपछि विवाद भएको कारण मतगणना स्थगन भएको माओवादी उमेदवार जयसवालले बताएका छन्।

    यता, नेकपा एमालेका नगरप्रमुख उम्मेदवार मोहमद कलिमुल्लाहले पनि पुन मत गणना गर्न माग गरेका छन्। मतगणनामा खटिएका कर्मचारीले पक्षपातमा लागेर विभेदको कार्य गरेको भन्दै कलिमुल्लाहले निर्वाचन अधिकृत सहितका कर्मचारी नै परिवर्तन गर्नुपर्ने बताएका थिए।

    राजपाका केन्द्रीय सदस्य राजकुमार दासले पनि जनताले दिएको अमूल्य मतको कसैले खेलवाड गर्ने हक नभएको बताएका छन्। उनले पनि सो वार्डको अन्तिम ठेली पुन गणना गर्न माग गरेका छन्। यता, नेपाली कांग्रेसले भने यदि मतगणना पुन गर्ने हो भने वार्ड नं. १ देखि सबै वार्डको फेरि गणना गर्नुपर्ने बताउँदै आएको छ। मतगणना सुचारु गर्नको  लागि शुक्रबार दिउँसो सर्वदलीय बैठक बसिरहेको छ।  

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.