धनुषा : ऐतिहासिक नगरी जनकपुरमा एक यस्तो प्रसिद्ध मन्दिर छ, जहाँ घटस्थापना देखि विजयादशमीसम्म महिलालाई प्रवेशमा रोक लगाइन्छ। सुनेर अचम्म लाग्छ, तर सत्य यही हो।
जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि विजया दशमीसम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा हालसम्म कायमै छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ। त्यही झ्यालबाट बाहिरैबाट प्रसाद र पुजासामाग्री चढाएर गरेर फर्किनुपर्ने बाध्यता छ।
यस्तो छ परम्परा
राजा जनकको कुल देवीको रुपमा पुज्य राजदेवी मन्दिरमा झयालबाट मात्र महिलाहरुले दर्शन पुजा गर्ने प्रावधान छ। पुरुषहरु भित्र प्रवेश गरी पिडीमा समेत पुजा गर्न सक्छन। तर दशमीभरी महिलालाई प्रवेश निषेध छ।
राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि दशमीमा महिलाको प्रवेश निषेध गरिन्छ। जानकी मन्दिरमा महिलाहरुले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन पुजा गर्न पाउछन्।
त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ।
त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको स्थानीयहरु बताउँछन्। तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ।
परम्परा तोडेर अहिलेसम्म कुनै पनि महिलाले दशैको अवधिभित्र मन्दिर भित्र पस्ने आँट नगरेको मन्दिरका पूजारी महन्थ राम गिरीले बताए। यस्तो रुढीवादी परम्पराको विरोध प्रत्येक वर्ष दशैंको समयमा हुने गरेको छ। तर केही समयका लागि विरोध भएपनि मौसी बाजा जसरी विरोध हराएर जाने गरेको स्थानीय सञ्चारकर्मी प्रतिभा झा बताउँछिन्।
‘आजको २१ औं शताब्दीमा पनि यस्ता अन्धविश्वासको पछि लागेर केही सिमिति व्यक्तिले महिलामाथि विभेद गरेको हो र यस्तो छुवाछूतको अन्त्य गर्नुपर्छ,’ उनले भनिन्।
दशैमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेरबदल नभए पनि पुजा गर्ने द्वार र महिलाहरुको प्रवेशमा फरक हुने गरेको छ। दशमीभरी महिलाहरुले भित्र प्रवेश गरि पिडीमा पुजा गर्न रोक लगाइएपनि दशमीपछि महिलाहरुका लागि समेत बन्देज नरहने महन्थ गिरी बताउँछन।
‘भगवानको पुजा आस्थाले हुन्छ, भित्र प्रवेश गर्नु नै ठूलो विषय होइन। हामीले हाम्रो परापूर्वकालदेखि आएको परम्परालाई अनादर गर्नु कदापि उचित होइन,’ स्थानीय सुमन देवी भन्छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।