एकहप्ते कार्टुन प्रदर्शनी

|

काठमाडौं : विश्वमा वातावरणमा परिरहेको प्रभाव र त्यसले पारेको असरका बारेमा एकहप्ते कार्टुन प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा आइतबारदेखि सुरु भएको छ। वातावरणविद् डा. तीर्थ बहादुर श्रेष्ठले उद्घाटन गरेको सो कार्यक्रमको आयोजना वन्यजन्तु पीडित उद्धार कोषले गरेको हो।

कार्यक्रममलाई कार्टुनिस्ट क्लब अफ नेपाल, दि आर्ट क्लब नेपाल, रेड कार्यान्वयन केन्द्रले सहकार्य गरेको सो प्रदर्शनीका लागि डब्लुडब्लुएफ नेपालले सहयोग गरेको छ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर गरिएको सो कार्टुन प्रदर्शनीमा २० जना कार्टुनिस्टका करीब चार दर्जन कार्टुन राखिएको छ। दुर्गा बराल ‘वात्स्यायन’, अशोकमान सिंह, अविन श्रेष्ठ, धिरेशकुमार दहाल ‘डिकेड’, राजेश केसी, देवेन्द्र थुम्केली, केशवराज खनाल, जीवन राजोपाध्याय, दीपक गौतम, उमेशचन्द्र अधिकारी, भानु भट्टराई, सुदर्शन विक्रम राणा, सुनिता राणा, हिमालय गौतम, रवीन्द्र मानन्धर, योगेश कुमार खपाङ्गी, सागर शाह, रवि मिश्र, अकृन र आर. के. थापा सो कार्टुन प्रदर्शनीमा सहभागी रहेका छन्।

प्रदर्शनीको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले वातावरणका क्षेत्रमा कार्टुनिस्टले प्रभाव पार्ने किसिमका कार्टुन बनाएको बताए। उनले भने, ‘आम मानिसले सहजै बुझ्ने वातावरणीय प्रभावका विषयलाई कार्टुनले सशक्त रुपमा उठाउन सकेको छ।’

आयोजक संस्था वन्यजन्तु पीडित उद्धार कोषका अध्यक्ष डा. प्रभु बुढाथोकीले विश्वमा वातावरणका क्षेत्रमा परेको प्रभावलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर कार्टुन प्रदर्शनी गरेको बताए। उनले थपे, ‘मानवीय कारणले वातावरणमा दिनानुदिन असर गरिरहेको छ। त्यसलाई कलासँग जोडेर वातावरणमा परेको प्रभावलाई जनचेतना जगाउने उद्देश्यसहित यो प्रदर्शनी गरेका हौं।’

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष अविन श्रेष्ठले कार्टुन समाजमा जनचेतना बढाउनमा कार्टुनले भूमिका खेल्ने सक्ने बताए। उनले भने, ‘राजनीतिक तथा सामाजिक कार्टुन बनिरहेको अहिलेको अवस्थामा वातावरणसम्बन्धी कार्टुन बनाउने यस कार्यले समाजमा फरक किसिमले प्रभाव पार्ने विश्वास लिन सकिन्छ।’

दि आर्ट क्लब नेपालका कोषाध्यक्ष सुनिता राणाले कार्टुन प्रदर्शनी वातावरणका विषयमा हुनुले कलाकार पनि यस विषयमा संवेदनशील रहेको बताइन्।

डब्लुडब्लुएफका डा. यादव कँडेलले वातावरण जगाउने अभियानमा कार्टुनिस्टहरु सहभागी हुनु उदाहरणीय कार्य रहेको बताए।

रेड कार्यान्वयन केन्द्रका प्रमुख प्रकाश प्याकुरेलले समाजमा जनचेतना जगाउन यो प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुने बताए।

व्यङ्ग्यचित्रकारले वातावरण र विश्वमा तापक्रम बृद्धिसम्बन्धी विषयलाई केन्द्रमा राखेर बनाएका कार्टुनाकृतिहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने कलाकार शान्तकुमार राईले बताए। 

कार्टुनका माध्यमबाट वातावरणसम्बन्धी जनचेतना जगाउन र सन्देश प्रवाह गर्न कार्टुनिस्टहरु सफल भएको सहभागी कलाकार योगेशकुमार खपाङ्गीले बताए।

विशिष्ट क्यक्तित्वदेखि सामान्य वर्गका आम मानिसलाई सहजै जलवायू परिवर्तनमा सम्बन्धमा सन्देश दिन कार्टुन प्रभावकारी रहेको सहभागी कार्टुनिष्ट उमेशचन्द्र अधिकारीले बताए। 

हेर्नुहोस् जलवायु परिवर्तनलाई कार्टुनमा कसरी उतारिएको छ-

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.