|

  • अर्जुनकुमार आचार्य-

विराटनगर :  मेघा कार्की १९, को लक्ष्य नेपाल आर्मी बन्ने थियो। परिवारकी एक्ली छोरीलाई सरकारी जागिरे बाबु र एक उद्योगमा कार्यरत आमाले निकै मायाले हुर्काएका थिए। उनको लक्ष्यप्रति बाबुआमाको पनि हौसला र समर्थन थियो।

तर, ती सपना एकाएक चकानचुर भयो २०७२ पुस २५ गते । आफ्नै घरको छतमा गएकी उनी त्यस दिनको घटना सम्झेर अहिले पनि तर्सिन्छिन् । विराटनगरमा बन्दै गरेको आफ्नो घर छतमा चढेकी थिइन् मेघा । नगरपालिकाका कर्मचारीले हाइ भोल्टेज तार नजिकै रहेको भन्दै घरको नक्शा पास गर्न मानेको थिएन। त्यही हेर्न उनी छतमा चढेकी थिइन्। त्यही बेला उनलाई विजुलीको नाङ्गो तारले छोयो । करेन्ट लागेर दुवै हात गुमाएकी मेघाले भनिन् ‘छत हेर्न गएका थियौं । होस आउँदा अस्पतालमा थिएँ।’

करेन्ट लागेर ढलेपछि उनलाई न्युरो अस्पताल भर्ना गरियो। न्यूरोले उपचार गर्न नसक्ने भएपछि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। तर, धरानमा पनि जटिल केस भएको भन्दै उपचार सम्भव नभएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा लगियो। करेन्ट लागेको दुई दिनपछि पुस २७ गते सोमबार अस्पतालका डाक्टरले दुवै हात काम नलाग्नै भन्दै काटेर फ्यालिदिए।

आखिर नेपाली सेना हुने र देशको सेवा गर्ने मेघाको जीवनमा त्यो सपना कहिल्यै पुरा नहुने भयो। तर कहानी त्यतिमा मात्र सीमित भएन। छोरीको उपचारमा कार्की परिवारको धेरै सम्पत्ति सकियो। मेघाको उपचार गर्ने डाक्टरले उपचार खर्च जुटाउन सके विदेशमा गएर एउटा हात जोड्न सकिने बताएका छन्। ‘अलिअलि भएको सम्पत्ति उपचारमा सक्यौं,’ आमा पदमाले भनिन् ‘बाँकी हात लगाउने उपचारका लागि पैसा धेरै लाग्छ रे, हामीले कहाँबाट ल्याउने?’

सानैदेखि सेनाको भेषमा अभिनय गरिरहने छोरीको अहिले आमाले नै हेर विचार गर्नुपरेको छ। ‘खानपिनदेखि दिसापिसाबसमेत अरुले नै गराउनु पर्दा विगतलाई सम्झेर छोरी रुन्छे,’ आँखा भरी आँशु पार्दै आमा पद्माले भनिन्, ‘आफू बाँचुन्जेल त स्याहार चाकर गरुँला, मरेपछि कसले गर्देला छोरीको बिजोग हुनेभो।'

छोरीको स्याहार गर्नु परेकै कारण आमा पद्माले आफूले गर्दै आएको काम पनि छोडिन्। ‘छोरी अशक्त भएपछि काम छाडेर छोरीको हेरचाहमा लागें,’ उनले भनिन्, ‘कतै चिलायो भने पनि अरु नै चाहिन्छ, एउटा हात जोड्न पाए कमसेकम केही आड त पाउँथी छोरीले।’

छोरीको उपचारमा कार्की परिवारले ४ लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ। अहिले पनि मेघाले नियमित औषधी खाइरहनुपर्छ। आर्थिक अभावका कारण छोरीको उपचार गर्न समस्या भएकोले कार्की परिवारले सहयोगको याचना गरेको छ। सहयोग माग्नै त उनीहरुलाई कहाँ मन थियो र ? ‘देशका ठूलै नेता या मन्त्रीको पहुँचमा हुने हो भने समस्या हुने थिएन होला, हाम्रा लागि दैवले पनि हेरेन,’ कार्कीले भने। कार्की परिवारले सहयोग गर्न चाहनेले नेपाल बंगलादेश बैंकको खाता नम्बर ०१२०९०६८२ मा रकम जम्मा गर्न सक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.