|

काठमाडौं :  खरिद सम्झौताअनुसारकै इन्टरनेटको ‘स्पीड’नपाउने समस्यामा हुनुहुन्छ? अथवा प्याकेजमा उल्लेखितभन्दा कम डाउनलोड र अपलोड क्षमताको इन्टरनेट प्रयोग गरिरहनुभएको छ? 

उपभोक्तामाझ विद्यमान यस्तो समस्याको वास्तविक तथ्य पत्ता लगाइ सम्बन्धित सेवा प्रदायकलाई सम्झौताअनुसारकै इन्टरनेट उपलब्ध गराउनुपर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले तयारी सुरु गरेको छ।  

इन्टरनेटको गतिको विषयमा बढ्दो गुनासो सम्बोधन गर्न गति मापन गर्न सक्ने डिभाइस प्राधिकरणले प्रयोगमा ल्याउन लागेको हो।  'पहिलो चरणमा प्रारम्भिक परीक्षण गर्ने योजना बनाएका छौं', प्राधिकरणका अनुगमन विभागका निर्देशक विजय रोयले भने, 'त्यहाँबाट आउने नतिजाका आधारमा यसलाई विस्तार गर्छौं।’  उनका अनुसार प्राधिकरणले पहिलो चरणमा त्यस्ता बीसवटा डिभाइस जडान गर्नेछ।

 डिभाइस जडान गर्दा सकेसम्म सबै इन्टरनेट सेवा प्रदायकलाई समेट्ने प्राधिकरणको योजना छ। ‘सबै सेवा प्रदायकले उपलब्ध गराएको इन्टरनेटको गति मापन गर्न पनि धेरैलाई समेट्न खोजिएको हो', रोयले भने। प्राधिकरणले जडान गर्ने डिभाइसमा प्रयोग हुने सफ्टवेयरले चौबीसै घण्टा इन्टरनेटको वास्तविक गति पत्ता लगाउनेछ।  यस्तो तथ्य प्राधिकरणले अनलाइनमै प्राप्त गर्नेछ।

यसरी प्राप्त तथ्यलाई मूल्याङ्कन गरेर ग्राहकसँग भएको सम्झौताभन्दा कम गतिको इन्टरनेट उपलब्ध गराएको भए सम्बन्धित सेवा प्रदायकलाई प्राधिकरणले सुधारका लागि निर्देशन दिने रोयको भनाइ छ।  प्राधिकरणको निर्देशनअनुसार इन्टरनेटको गतिमा सुधार नभए कारबाहीको प्रक्रिया पनि अघि बढाउँछौं, रोयले भने। 

प्राधिकरणले खासगरी सिङ्गापुरको सर्भरबाट सेवा प्रदायकले ल्याउने इन्टरनेट ब्यान्डविथको गतिको अनुगमन गर्नेछ।  सेवा प्रदायकले त्यसरी ल्याउने 'ब्याण्डविथ' ग्राहकसँगको सम्झौताअनुसार उपलब्ध नगराउँदा इन्टरनेटको गति फरक पर्ने गर्छ।  सम्झौता एक किसिमको गर्ने तर 'ब्याण्डविथ' कम उपलब्ध गराउँदा गतिमा पनि समस्या आउने  रोयले बताए। उनले भने, 'हामी यही पत्ता लगाउने योजनामा छौं।'  प्राधिकरणले यस क्रममा मोबाइल डाटाको गतिको भने परीक्षण गर्ने छैन।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.