रुपन्देही : एमाले उपमहासचिव विष्णु पौडेल २०५६ सालको आमचुनावदेखि नै रुपन्देहीबाट उम्मेदवार छन्। आम चुनाव, संविधान सभाका दुई वटा चुनावमा पनि उनी निर्विकल्प उम्मेदवार बने। विगतमा निर्वाचन क्षेत्र नं. ३, संविधान सभामा ४ र अहिले २ रहेको बुटवल र आसपासको क्षेत्र उनका लागि स्थायी थलो बनेको छ।
पौडेलमात्रै हैन, रुपन्देहीका अधिकांश निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार छन्। ७ वटा निर्वाचन क्षेत्रबाट ५ वटा निर्वाचन क्षेत्र कायम भएको रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका अब्दुल रज्जाक र एमालेका छविलाल विश्वकर्मा दोस्रोपटक भिड्दैछन्।
देवदह नगरपालिका प्रभाव मानिने यो क्षेत्रबाट यसअघि रज्जाकले जितेका थिए। शुरुमा यो क्षेत्रबाट एमालेबाट घनश्याम भुसालले उम्मेदवारी दिने भनिए पनि छविलाल विश्वकर्माले टिकट पाए। भुसाल ३ नं. क्षेत्रबाट लड्दैछन्।
उनी यसअघि पनि ३ नं. क्षेत्रबाट उम्मेदवारी दिएका थिए। कांग्रेस नेता बालकृष्ण खाँडसँग पराजित भएका उनी पनि यो क्षेत्रका लागि नयाँ हैनन्। खाँड यसपटक समानुपातिकका उम्मेदवार छन्।
यस्तै अर्का चिरपरिचित उम्मेदवार हुन्, राप्रपाका दीपक बोहरा। सिद्धार्थनगर नगरपालिका प्रभाव क्षेत्र मानिने रुपन्देही ३ मा उनी पुरानै हुन्। यसअघि संविधान सभा निर्वाचनमा जित हात पारेका उनी यसपटक कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका छन्।
प्रदेश सभामा जिल्ला तहका नेताहरुले टिकट पाए पनि प्रतिनिधि सभामा भने पुरानै उम्मेदवारको दबदबा छ। मर्चवार क्षेत्र प्रभाव मानिने रुपन्देही ४ मा राजपाका सर्वेन्द्रनाथ शुक्ल पनि स्थायी उम्मेदवार हुन्। उनी २०७० मा सभासद् बनेका थिए। सोही क्षेत्रबाट अर्का पुरानै उम्मेदवार मैदानमा उत्रिएका छन्।
विगतमा मधेसी जनअधिकार फोरमको राजनीति गर्ने ओमप्रकाश यादव गुल्जारी मनोनयन दर्ताको दुई दिनअघि एमाले प्रवेश गरेर प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। यसअघि २०६४ मा संविधान सभामा गुल्जारीले सोही क्षेत्रबाट चुनाव जितेका थिए।
रुपन्देहीको अर्को क्षेत्र ५ नम्बरमा पनि पुरानै अनुहार चुनावी मैदानमा छन्। कांग्रेसका भरतकुमार शाह सो क्षेत्रबाट निर्विकल्प उम्मेदवार बन्दै आएका छन्। २०५६ र २०७० मा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
यसपटक उनको प्रतिस्पर्धा वाम गठबन्धनका (माओवादी) डिलाराम आचार्यसँग हुनेछ। २०५६ मा एमालेसँगको तालमेलमा आचार्यले अर्घाखाँची १ बाट निर्वाचन जितेका थिए। त्यतिबेला उनी राष्ट्रिय जनमोर्चाका उम्मेदवार थिए।
नयाँ पनि छन्
रुपन्देहीमा यसपटक कांग्रेसले चुनावबाट ‘टेष्ट’ नभएका व्यक्ति ल्याएको छ। रुपन्देही २ मा प्रतिनिधिसभातर्फ कांग्रेसका युवराज गिरी आएका छन्। यसअघि सूर्यप्रसाद प्रधानको स्थायी क्षेत्र मानिएको यो क्षेत्रमा प्रधानको निधनपछि गिरीले मौका पाएका छन्। कांग्रेस पूर्व जिल्ला सभापति पुष्पानन्द गिरीका छोरा युवराज गिरी महाधिवेशन प्रतिनिधि हुन्।
प्रदेश सभाका लागि चर्चामा रहेका उनले अन्तिम समयमा प्रतिनिधि सभाको टिकट पाएका हुन्। रुपन्देही २ बाट कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालको चर्चा थियो।
यस्तै, अर्का नयाँ अनुहार हुन् प्रमोद यादव। क्षेत्र नं. ४ मा कांग्रेसले प्रमोद यादवलाई मैदानमा उतारेको छ। उनी मर्चवार क्षेत्रमा कांग्रेसको राजनीति गर्छन्।
व्यवसायीदेखि पत्रकारसम्म उम्मेदवार
प्रदेश सभातर्फ भने राजनीतिक पृष्ठभूमिभन्दा फरक क्षेत्रका व्यक्तिहरु पनि आएका छन्। रुपन्देही २ को २ मा व्यवसायी महेशमान सिंह कांग्रेसबाट उम्मेदवार बनेका छन्। बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सिंह बुटवल उपमहानगरपालिकाको प्रमुखमा समेत दाबेदार थिए। विवेकशील साझा पार्टीबाट रुपन्देही २ मा प्रतिनिधि सभाका उम्मेदवार बनेका हरिकृष्ण अधिकारी डेन्टल व्यवसायी हुन्।
रुपन्देही २ मै पत्रकारिता पृष्ठभूमिका मनिकर कार्कीले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका छन्। यसअघि बुटवलको दैनिक पत्र दैनिकमा प्रमुख सञ्चालन अधिकृत र विभिन्न पत्रपत्रिकाहरुमा स्तम्भकार रहेका कार्की नयाँ शक्ति नेपालबाट उम्मेदवार बनेका हुन्।
पार्टी छाड्नेबित्तिकै टिकट
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी शुरु भएसँगै दल अदलबदल गर्नेको लर्को लाग्यो। पार्टी प्रवेश गरेको केही दिनभित्रै रुपन्देहीमा ४ जनाले चुनावका लागि टिकट पाए।
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पार्टी छाडेर एमाले प्रवेश गरेको केही दिनपछि प्रतिनिधि सभाको टिकट पाए। उनी रुपन्देही ४ बाट मैदानमा उत्रेका छन्। यस्तै फोरम लोकतान्त्रिक छाडेर एमाले प्रवेश गरेकी पल्लवी शुक्लाले रुपन्देही ४ बाट प्रदेश सभाका लागि टिकट पाइन्।
संघीय समाजवादी फोरमबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर पराजित भएका फकरुद्दिन खानले कांग्रेस प्रवेश गर्ने बित्तिकै टिकट पाए। उनी रुपन्देही ५ को २ बाट लडेका छन्। यस्तै राजपा छाडेका हजरत बलिल फकिरले एमाले प्रवेश गरेपछि रुपन्देही ५ को २ मा टिकट पाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।