|

जनकपुरधाम : २१ मंसिरको दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धनुषाको ४ वटा क्षेत्रबाट मन्त्री, निवर्तमान मन्त्री र पूर्वमन्त्री गरी १० जना मन्त्रीहरू  चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। धनुषामा ९ मन्त्रीहरु प्रदेशसभाको निर्वाचन र एकजना मन्त्री प्रदेशसभाको निर्वाचनका लागि चुनावी मैदानमा उत्रेका हुन्।

धनुषाको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि पूर्वभूमिसुधार मन्त्री मातृकप्रसाद यादव वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेसका तर्फबाट निवर्तमान शान्ति तथा पुनर्निर्माण मन्त्री आनन्दप्रसाद ढुंगाना चुनावी प्रतिस्पर्धामा देखिएका छन्। उनीहरुसँगै सो क्षेत्रमा फोरम र राजपा नेपालको संयुक्त उम्मेदवार दीपक कार्कीसमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन्।

यसैगरी, क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभाको लागि वाम गठबन्धनको तर्फबाट पूर्वस्थानीय विकास मन्त्री रामचन्द्र झाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने कांग्रेसको तर्फबाट हालका कृषि मन्त्री रामकृष्ण यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुसँगै फोरम नेपाल र राजपाको संयुक्त प्यानलबाट उमाशंकर अरगरियाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको लागि संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको तर्फबाट राजेन्द्र महतोलाई उम्मेदवार बनाइएको छ। यसैगरी, नेपाली कांग्रेसले निवर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई उम्मेदवार बनाएको छ भने, वाम गठबन्धनको तर्फबाट स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवलाई उम्मेदवार बनाइएको छ।

प्रदेश राजधानीको सम्भावना बोकेको जनकपुर पनि यसै क्षेत्रमा पर्छ। मधेस आन्दोलनको केन्द्रभूमिसमेत रहेको हुँदा स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा कांग्रेसभन्दा दोब्बर मतले राजपा विजयी भएको थियो।

यसैगरी, क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभाको लागि वाम गठबन्धनको तर्फबाट पूर्व–सिँचाइमन्त्री रघुवीर महासेठलाई उम्मेदवार बनाइएको छ भने, हालका खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवलाई कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।

राजपा र फोरमले भने यस क्षेत्रमा महाजन यादवको संयुक्त प्यानललाई उम्मेदवार बनाएको छ। सोही क्षेत्रमा वाम गठबन्धनको तर्फबाट पूर्व-स्थानीय विकास राज्यमन्त्री शत्रुधन महतो भने प्रदेशसभा (ख) को लागि उम्मेदवार बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.