|

जनकपुरधाम :  प्रदेश नं. २ को प्रस्तावित राजधानी धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीचको प्रतिस्पर्धा निक्कै रोमाञ्चक हुने देखिएको छ।

राष्ट्रिय राजनीतिमा स्थापित मधेसका दुई हस्ती निधि र महतो दुवै एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएपछि यो राष्ट्रिय चासोको विषय बनेको छ। निधि र महतो दुवै नेता देश र मधेसका लागि उत्तिकै महत्वपूर्ण भएकोले पार्टीबाट माथि उठेर हेर्दा आम नागरिकहरुमा कसलाई मत दिने भन्ने अन्योल छ।

प्रथम र दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ बाट जित हासिल गरेका निधि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई बलियो बनाउन र कम्युनिष्ट अधिनायकवादी व्यवस्था स्थापनाको  दुष्प्रयासलाई रोक्न आफूले जित्नुपर्ने दावी गर्छन्।

यता आफ्नो गृह जिल्ला सर्लाही छोडेर धनुषा आएका राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यो निर्वाचन एउटा निर्वाचन मात्र नभएर मधेस आन्दोलनको उत्कर्ष भएको बताएका छन्। मधेसी जनताको चाहना अनुसार मधेसको राजधानी जनकपुर रहेको क्षेत्रबाट उम्मेदवारी दिएको बताउने महतो आफ्नो जित निश्चित रहेको दावी गर्छन्।

उनले भने  'जनताको सदिच्छा अनुसार मधेस आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने मधेसी जनताको अभिलाषालाई राजपा र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले मात्र परा गर्न सक्छ।'  

यता देश र मधेसको लागि दुवै नेता उत्तिकै आवश्यक रहेको राजनीतिक विश्लेकहरुको तर्क छ। कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष राजेन्द्र महतो दुवै उत्तिकै महत्वपूर्ण मानिएकाले मधेस र देशको लागि एउटै क्षेत्रबाट निर्वाचनमा टकराव गर्नु दूर्भाग्यपूर्ण भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाको भनाइ छ। निधि र महतोको समर्थकका बीचमा हाल अमार्यादित कार्य भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले स्वस्थ्यकर राजनीतिक प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि कार्यकर्ताहरुले समाजिक सञ्जालमा देखिएको प्रचार प्रसारको शैली संस्कारविहीन भएको बताए।

क्षेत्र नं. ३ मा करिब १ लाख मतदाता

धनुषाको क्षेत्र नं. ३ मा जनकपुर उप–महानगरपालिकाको १७ वटा वडा, नगराइन नगरपालिका, धनौजी र मुखियापट्टी मुसहरनियाको सम्पूर्ण वडाहरु पर्छ। स्थानीय तहको निर्वाचनमा जनकपुर उप–महानगरपालिकामा राजपा नेपाल, नगराइन नगरपालिकामा नेपाली कांग्रेस, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा नेकपा एमाले र धनौजी गाउँपालिकामा राजपाका उम्मेदवारले जित हासिल गरेक थिए। यी चारवटै स्थानीय तहको कुल मतदाता जनसंख्या ९७ हजार ५ सय २ रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.