|

कपिलवस्तुः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले एक महिनामै स्थायी सरकार बनाउने बताएका छन्। 

जनताको चाहना स्थायी सरकार रहेको उल्लेख गर्दै उनले गठबन्धनले पार्टीको मूर्त रूप लिइसकेको बताउँदै अबका १० वर्ष देशको निर्माणका लागि खर्चिने बताए।
वाम गठबन्धनद्वारा बुधबार कपिलवस्तुको जीतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब दुई पार्टी एक भइसकेको भन्दै ढुक्क साथ वाम गठबन्धनलाई विजय गराउन आग्रह गरे। ‘जनताको चाहाना स्थायी सरकार रहेको छ, त्यो चाहना वाम गठबन्धनले एक महिनाभित्रै पूरा गर्दै छ’, उनले भने। अल्पमतको सरकार चलाउँदा पनि आफूहरूले देश र जनताको हितमा काम गरेकै कारण यस पटक वाम गठबन्धनले पाँच वर्षसम्म ढुक्क सरकार चलाउने दाबी गरे। 

जिल्लाको चुनावी सभामा सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं.– १ का कांग्रेस उम्मेदवार दीपकुमार उपाध्यायप्रति कटाक्ष गर्दै राजनीति छाडेर जागिर खान भारत पसेकाहरू फेरि विकासको नाममा जनता ठग्न आएको भनी व्यंग्य गरे। वाम गठबन्धनको सरकार निश्चित रूपमा बन्ने र त्यसपछि आफ्नो जागिर धरापमा पर्ने देखेपछि उपाध्याय पुनः राजनितिमा छिर्न खोजेको ओलीको संकेत थियो। ‘देशलाई गणतन्त्रसम्म ल्याउन हत्केलामा ज्यानको बाजी थापेका बलदेव जिताउने कि जागिर खुस्किने डरले भर्खरै नेपाल पसेका दीपकुमारलाई’, उनले जनता समक्ष प्रश्न तेस्र्याए। विकासको नाममा सिन्को नभाँचेका पंचायतदेखि अहिलेसम्म शक्ति केन्द्रमा बस्नेलाई अब जनताले नपत्याउने उनले ठोकुवासमेत गरे।

माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा (बादल)ले देशमा पूँजीपतिहरूलाई मात्र गणतन्त्र आएको बताए। देशको अग्रगामी परिवर्तन र विकासका लागि वाम गठबन्धन एक मात्र विकल्प भएको बताउँदै थापाले जनताको सच्चा गणतन्त्र वाम गठबन्धनको जीतसँगै आउने दाबी गरे। राष्ट्र विकास समाजवाद र संविधानबाट प्राप्त उप्लब्धि रक्षाका लागि वाम गठबन्धनको जीत आवश्यक रहेको भन्दै वाम उम्मेदवारहरूलाई जिताउन थापाले सभाबाटै आग्रह गरे। हेलिकोप्टरबाट जिल्लाका जीतपुर र इमिलियाका सभालाई सम्बोधन गरी ओली र थापा आजै दाङ गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.