|

दार्चुला : चुनाव प्रचारका लागि राजनीतिक दलहरुले जीपहरु बुकिङ गर्दा दार्चुला सदरमुकामबाट छोटो दूरीको यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन्। सदरमुकाम खलंगाको बाङगाबगडबाट दल्लेक होपरीका लागि दैनिक रुपमा सेवा दिने जीपहरु चुनावका बेला कम हुँदा यात्रुहरु मर्कामा परेका छन्। 'यात्रुहरु सबैलाई सजिलै यात्रा गर्न सक्ने स्थिति छैन' गाडी चालक प्रकाश डोबालले भने।

यो क्षेत्रमा दैनिक चल्ने १३ जीपहरुमध्ये १० जीप राजनीतिक दलहरुले बुकिङ गरेका छन् भने ३ जीपले मात्रै बुधबार यो क्षेत्रमा यात्रु ओसारिरहेका छन्। जीपलाई पर्खदा पर्खदा ३ घण्टासम्म बसपार्कमा बस्नुपरेको अपी नगरपालिका २ का सुशीला डोबालले बताइन्। जीप कम हुँदा बसपार्कमा यात्रुहरुको भीड लाग्ने गरेको बाङगाबगड बसपार्क छेऊमा जडिबुटी भण्डारका सञ्चालक तथा उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्नाले बताए।

अपी नगरपालिका ५ मा रहेको बसपार्कमा अहिले जीप पाउनै नसकिने भएको छ। सदरमुकामबाट मालिकार्जुन, पस्ती, मिल्खेत, दत्तु र धाप क्षेत्रमा चल्ने जीपहरु दलहरुको बुकिङमा गएकोले बसपार्कबाट जीपमार्फत यात्रु ओसार पसार गर्नै नसकिने स्थिति आएको यातायात व्यवसायी लवदेव अवस्थीले जानकारी दिए। बसपार्कबाट बसबाट मात्रै यात्रु ओसार पसार गर्न लागिएको उनले बताए।

त्यसैगरी दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट ग्वानी, मालिकार्जुन, पस्तीका साथै बिटुले, लटिनाथ र पारिवगडसम्म सञ्चालन हुने जीपहरु पनि दलहरुले बुकिङ गरी राजनीतिक दलका कार्यक्रममा व्यस्त रहेकाले यो क्षेत्रका यात्रुहरु पनि सास्ती खेप्न बाध्य छन्।

१० जीप सशस्त्रले लियो

जिल्लाका विभिन्न ठाउँमा मोबाइल स्टाइकिङ गर्नका लागि १० वटा निजी जीप सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म दार्चुलाले भाडामा लिई सञ्चालनमा ल्याएको छ।

नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन शंकरपुरका लागि २, नौगाडका लागि २, लटिनाथका लागि २ र सदरमुकाममा रहेको गुल्मबाट सञ्चालन गर्नका लागि ४ वटा जीप भाडामा लिई स्कर्टिङ गरिएको गुल्मपति अम्बिकाप्रसाद जोशीले बताए। सशस्त्रले कात्तिक २७ गतेदेखि १५ दिनका लागि ती जीपहरु भाडामा लिई सञ्चालनमा ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.