|

काठमाडौं : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि अब २४ घण्टाको समय बाँकी छ।  निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सबै मतदान केन्द्रमा कर्मचारीसहित आवश्यक सामग्री पुर्‍याइसकेको छ।  

शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण सुरु भएको छ।  मतदाता परिचयपत्र वितरणसँगै आयोगका कर्मचारीले मतसङ्केतको विधिसमेत मतदातालाई बुझाइरहेका छन्।  सर्वोच्चको आदेश अनुसार अन्तिम समयमा मतपत्र परिमार्जन गरेसँगै आयोगले यो पटक पनि मतदाता शिक्षा कार्यकर्ता परिचालनमा केही ढिलाइ गरेको थियो।  

निर्वाचन आयोगले भने मतदाता शिक्षाको प्रचारप्रसारलाई प्राथमिकता दिएको जनाएको छ।  आयोग प्रवक्ता नवराज ढकालले मतदाता शिक्षा आयोगको प्राथमिकता भएको बताए।  ‘हामीले मतसङ्केत गर्ने विधि सिकाउनेदेखि अन्य प्राविधिक कुराको जानकारी दिन मतदाता शिक्षा कार्यकर्ता सबैतिर खटाएका छौँ', उनले भने, 'आमसञ्चार माध्यबाट समेत प्रभावकारी रूपमा प्रचारप्रसार गरेका छौँ। ’

यसरी दिनुस् मत
यो पटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन्।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन्।  प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ।  हरियो रङको मतपत्रमा हरियो रङका नै चुनाव चिह्न छन्।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ।  यस्तै, प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ।  कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन्।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मतसङ्केत गर्नुपर्नेछ।  

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन्।  रातो रङको पानामा रहेको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन्।  मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउछन्।  यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ।  जसमध्ये पनि मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन्। एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ।  

यसो गरे हुन्छ मत बदर
मतदाताले एकभन्दा बढी निर्वाचन चिह्नमा मतसङ्केत गरे मत बदर हुन्छ।  यस्तै, चुनाव चिह्न रहेको कोठा बाहिर मतसङ्केत भएमा पनि मत बदर हुन्छ।  मतसङ्केत गर्दा स्वस्तिक चिह्न बाहेक अन्य कुनै वस्तु प्रयोग भएमा पनि मत बदर हुन्छ।  यस्तै मतदान अधिकृतको सही नभएको मतपत्रबाट मतदान गरेमा पनि मत बदर हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.