|

सिमकोट : हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ।  सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्।

मतदानस्थल टाढा भएका कारण उहाँहरूको भोट हाल्ने रहर अधुरै रहने भएको हो।  हालको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ३ को थापागाउँ बस्तीसँग वडा जोडिएपछि दूरदराजको बस्ती मासपुरका मत हाल्ने जनताको रहरमा तुषारापात भएको शनिबार बेलुका ५ बजे मतदानस्थल आइपुगेका कल्या बुढाले दुखेसो गरे।

आफूहरूको मतदान केन्द्र कैलाश आधारभूत विद्यालयमा आएर मत हाल्ने सबैको रहर भएर पनि बूढाबूढी हिँड्न नसक्ने र घरको एक जनाले बालबच्चा र बस्तुभाउ तथा घरको हेरचाह गर्नैपर्ने बाध्यताले बढीमा २० जना मात्र मत हाल्न आउने उहाँले बताए।  “गाउँवासी सबैमा भोट हाल्ने इच्छा छ तर त्यो सपनाजस्तै छ, कहिले पूरा होला र त्यो सपना ?”, लामो सास फेर्दै बुढाले भने।  

अझ अर्को रोचक पक्ष त के छ भने गत स्थानीय चुुनावमा मत हालेका मतदाताले यसपालि भोट हाल्न पाउँदैनन्।  उहाँहरूको साटो अस्ति निर्वाचनमा मत हाल्न नआएका मतदाताहरू यसपालि आएको बलवीरे बुढाले बताए।  राज्यबाट सेवासुविधा पुर्‍याउन निकै कठिन हुने सो गाउँमा विकासे योजनाहरू त दुई वर्षको अन्तरमा पर्ने गरेको उनले बताए।  

शनिबार बिहान ५ बजे हिँडेर मतदान केन्द्र रहेको थापागाउँ आइपुगेकी याङ्जु रोकायाले गुनासो गरिन्, 'हाम्रो बाध्यता कसले बुझिदेला र? अरू विकास त पाइँदैन पाइँदैन, संविधानले नै प्रत्याभूत गरेको मतदान गर्ने अधिकारबाट समेत वञ्चित हुनुको पीडा कस्तो हुन्छ, त्यो मासपुरवासीलाई मात्र थाहा छ।' यसपालिको निर्वाचनमा मत हाल्न मतदान केन्द्र आउने धेरै चाहना भए पनि पूरा नभएको सन्देश मतदान गर्न आएका मतदातामार्फत अरूले दिएका छन्।

कुसकला बुढाले आफूमार्फत मासपुुरवासीलाई मतदान केन्द्रको व्यवस्था गाउँमै गर्न अनुरोध गरेको रोकायाले बताए।  “हामी नेपाली जनता हौँ भने मत हाल्ने व्यवस्था राज्यले गरोस्”, बुुढाको भनाइ उद्धृत गर्दै रोकायाले भने।  

त्यसो त मासपुर गाउँको इतिहास पनि २०५२ सालदेखिको मात्र छ।  २०५२ सालमा मात्र सो गाउँ पत्ता लागेको थियो र २०५६ सालको निर्वाचनदेखि मात्र मतदाता नामावली सङ्कलन भएको थियो।  २०५८ को जनगणनाबाट त्यहाँका जनताको विवरण सार्वजनिक भएको ताजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.