|

रूपन्देहीः नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भाँड्ने षड्यन्त्र भएको दाबी गरेका छन्। 
निर्वाचनपछि वाम गठबन्धनकै सरकार बन्ने र एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता हुने संकेत देखेर पार्टी एकता भाँड्ने प्रयास गरेको बताए।  

सोमबार रूपन्देहीको रुद्रपुरस्थित हरैयामा भएको आमसभालाई सम्बोधन गर्दै नेता ओलीले पार्टी एकताकै लागि निर्वाचनमा गठबन्धन भएकाले अब एकता भाँड्ने षड्यन्त्र नगर्न चेतावनी दिए।  

‘हामी जनताले कसरी सहज रूपमा सेवा सुविधा पाउँछन् भन्नेतर्फ केन्द्रित भएका छौँ, त्यसका लागि भारी बहुमतसहितको स्थायी सरकार बनाउनुपर्छ’, उनले भने, ‘त्यसको जिम्मा नेपाली जनतालाई छ।’ 

विश्व शान्तिको मुहान लुम्बिनीलाई केही व्यक्तिहरूले मागी खाने भाँडोको रूपमा प्रयोग गरेकोे भन्दै अब लुम्बिनीको विकास अन्तर्राष्ट्रिय चासोको विषय बनेको पनि ओलीले बताए। 

लुम्बिनीलाई दक्षिण भारतीय सीमा र उत्तर हाईवेसम्म विस्तार गरेर यस क्षेत्रको कायापलट गर्ने उनले उल्लेख गरे। लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा रहेकाले यस क्षेत्रको समृद्धि धेरै टाढा नरहेको उनको भनाइ थियो। 

नदी नियन्त्रण गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, औद्योगीक  क्षेत्र र विशेष औद्योगिक क्षेत्र निर्माण गरी औद्योगिक क्रान्ति गर्ने उनको भनाइ थियो। हरेक प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज स्थापना गर्ने योजना रहेको भन्दै यस्ता कुरा गर्दा केही व्यक्तिहरू मुर्छा परेको उनले बताए। 

रोजगारीका अवसरहरू सृजना गर्नेमा  विश्वस्त हुन आग्रह गर्दै उनले कृषिको आधुनिकीकरण, व्यापारीकरण, पर्यटन, होटल, यातायात सबै क्षेत्रमा विकास गर्ने र त्यसबाट युवाहरूले रोजगारी पाउने विश्वास ओलीले दिलाए। 

उक्त अवसरमा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेपालमा अब छिट्टै विभाजित कम्युनिष्टहरूको एकता हुन लागेको भन्दै यो घटना नेपालको इतिहासमा ठूलो घटना हुने दाबी गरे। 

उनले वाम एकता देखेर देशी विदेशी शक्तिहरू आत्तिएको धारणा राखे। गणतन्त्र आए पनि लाखौँ युवाहरू विदेशको मरुभूमिमा पसिना बगाउनुपर्ने अवस्था रहेको भन्दै बादलले अवको विकास समृद्धिबाट नै संभव हुने बताए।

रूपन्देही क्षेत्र नम्बर– ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिलाराम आचार्यले अब जमाना बदिलिएको भन्दै अबको जीत वामकै जीत भएको दाबी गरे। उनले परिर्वतनका लागि नयाँ जग रूपन्देहीबाट नै सुरु भएको भन्दै बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने योजनासहितको गुरुयोजना आफूहरूसँग रहेको बताए। 

नेकपा एमाले प्रदेश नम्बर– ५ का सचिव तथा रूपन्देही क्षेत्र नम्बर– ५ ‘क’का प्रदेशसभा उम्मेदवार भूमिश्वर ढकालले वाम गठबन्धको जीतबाट समग्र देशको विकास हुने दाबी गरे।

कार्यक्रममा रूपन्देही क्षेत्र नम्बर– ५ ‘ख’का प्रदेशसभा उम्मेदवार हजरत बलाल फकिर (राजु) ले स्थानीय भाषामा सम्बोधन गर्दै क्षेत्र नम्बर– ५ को विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए। विगतका दिनमा आफूले मधेसको आन्दोलनको नेतृत्व गरेको भन्दै आगामी दिनमा मधेसको  नाममा कुनै आनदोलन नहुने र वाम गठबन्धनले नै  विकासको गति दिनेमा आफू विश्वस्त रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.