|

काठमाडौं : पहिलो चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सिलबन्दी गरी कोठामा ताला लगाएर राखिएका मतपेटिकामा दलहरूले समेत ताला लगाएका छन्। कतिपय दलले मतपेटिका राखिएका कोठामा आफ्नै खर्चमा सीसी क्यामेरासमेत जडानको तयारी गरेका छन्।

आयोग र सुरक्षाकर्मीको मात्र विश्वास नभएको भन्दै थुप्रै जिल्ला सदरमुकाममा दलहरूले आफैँ सीसीटिभी राख्न अनुमति माग गरिरहेको आयोगले जनाएको छ। सुरक्षाका लागि जिल्ला सदरमुकाम पुर्‍याइएर बन्द कोठामा राखिएका मतपेटिकाको सुरक्षाका लागि दलहरूले आयोगले लगाएको तालामाथि पनि आफ्नो तर्फबाट ताला लगाउँदै सीसीटिभी जडान गर्न पाउनुपर्ने माग गरिरहेका छन्।

आयोगले जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई मतपेटिकाको सुरक्षाका लागि सम्पूर्ण अधिकार दिएको भए पनि लामो समयसम्म मतपेटिका बन्दकोठाभित्र हुने हुँदा दलहरूले समेत सुरक्षामा चिन्ता देखाएका हुन्। 

गोरखामा आयोगले लगाएको तालामाथि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले आफ्नो अर्को ताला थपेका छन्। यस्तै ताला लगाएर राखिएको गोरखा–१ को मतपेटिका राखिएको महिला तथा बालबालिका कार्यालयबाहिर तारबार गरिएको छ। सो स्थानवरपर कार्यकर्ताहरू आलोपालो गरी निगरानीमा बसेका छन्।

मतपेटिका राखिएको स्थानमा सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। यस्तै कतिपय स्थानमा दलका तर्फबाट मतपेटिका राखिएको स्थानमा सीसीटिभीको निगरानीसमेत गरिएको छ।

पाँचथरका जिल्ला निर्वाचन अधिकारी ध्रुव राईका अनुसार मतपेटिका भवनमा चारैतिर तारजाली लगाइएको छ। सीसीटिभी पनि मतपेटिका राखिएकोतिर फर्काइएको छ। जिल्ला समन्वय समितिको एक कोठामा सीसीटिभी हेर्ने व्यवस्था मिलाइएको छ।

संखुवासभामा मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ। भोजपुरमा जिल्ला अदालतको भवनमा मतपेटिका राखिएको छ। सोलुखुम्बुमा जिल्ला समन्वय समितिको हलमा मतपेटिका राखिने तयारी भएको छ भने खोटाङमा जिल्ला अदालतको भवनमा मतपेटिका राखिएको छ।

ओखलढुंगाका सहायक मुख्य निर्वाचन अधिकृत तीर्थ भट्टराईका अनुसार सदरमुकाम ल्याइएका मतपेटिका जिल्ला समन्वय समितिको हलमा राखिएको छ। मतपेटिका राखिएको ठाउँमा सीसीटिभीबाट समेत निगरानी गरिएको छ।

दोलखामा जिल्ला अदालतमा मतपेटिका राखिएको छ। रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार संकलित मतपेटिकालाई मन्थलीस्थित मालपोत कार्यालयको भवनमा राखिएको छ।

सिन्धुपाल्चोकमा चौतारास्थित कृषि विकास कार्यालयको भवनमा मतपेटिका राखिएको छ। नुवाकोट–१ का मतपेटिका विदुरस्थित सहकारी डिभिजन भवनमा राखिएको छ भने नुवाकोट–२ का मतपेटिका कोष तथा लेखा नियन्त्रण कार्यालयको भवनमा राखिएको छ।

धादिङ–१ का मतपेटिका जिल्ला भूसंरक्षण कार्यालयको भवनमा राखिएको छ भने धादिङ–२ का मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।
रसुवामा धुन्चेस्थित जिल्ला प्राविधिक कार्यालयमा मतपेटिका राखिएको छ। लमजुङमा सबै मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ। यस्तै मतपेटिका राखिएका सबै कोठामा सीसी क्यामेरा राखिएको छ।

मनाङमा चामेस्थित जिल्ला अदालत भवनमा मतपेटिका राखिएको छ भने मुस्ताङमा सदरमुकाम जोमसोमस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ। बागलुङमा दुवै क्षेत्रका मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएका छन्। म्याग्दीका जिल्ला निर्वाचन अधिकारी केदार पौडेलका अनुसार जिल्लाका सबै मतपेटिका बेनीस्थित जिल्ला अदालत भवनमा  राखिएको छ।

रोल्पाका मतपेटिका लिवाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा राखिएको छ। पश्चिम रुकुमका मतपेटिका खलंगास्थित जिल्ला समन्वय समितिको भवनमा राखिएको छ। पूर्वी रुकुमका मतपेटिका राख्न भने विद्यालय भवनको प्रयोग गरिएको छ। रुकुमकोटमा उपयुक्त सरकारी कार्यालय नभएपछि रुक्मिणी माध्यमिक विद्यालयको कक्षाकोठामा मतपेटिका राखिएको हो।

जाजरकोटमा जिल्ला अदालतको भवनमा पतपेटिका राखिएको छ। जुम्लामा मतपेटिका संकलन गर्न बाँकी छ। संकलित मतपेटिका नयाँ बनेको जिल्ला अदालतको भवनमा राखिएको छ।

यस्तै हुम्लाको पतपेटिका जिल्ला अदालतको भवनमा राखिने तयारी भएको छ। मुगुमा, कालिकोट र डोल्पामा संकलित मतपेटिका जिल्ला अदालतको भवनमा राखिएको छ। दार्चुलामा मतपेटिका संकलन जारी छ। संकलित मतपेटिका खलंगास्थित कर्मचारी आवास भवनमा राखिएको छ।

यसैगरी बैतडीमा दशरथचन्द नगरपालिकाको कार्यालयमा मतपेटिका राख्ने व्यवस्था मिलाइएको छ भने बझाङमा जिल्ला पशु सेवा कार्यालयको भवनमा राखिएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीका अनुसार संकलित मतपेटिका जिल्ला समन्वय समितिको भवनमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.