|
पेम्बादोर्जी शेर्पा । Photo– rajdhanidaily.com

काठमाडौं : सर्वोच्च अदालतले सबैभन्दा कम समयमा सगरमाथा आरोहण गरेको दाबी गर्ने पेम्बादोर्जी शेर्पाको विश्व रेकर्ड खारेज गरी लाक्पा गेलु शेर्पाको कायम गरेको छ। न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार पेम्बा दोर्जी शेर्पाको दाबी झुटो ठहर गर्दै लाक्पा गेलुको विश्व रेकर्डलाई कायम गरेको हो।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को नियम ३०, अनुसूची ११ बमोजिम सम्पर्क अधिकृतले पेश गर्ने प्रतिवेदनमा पर्वतारोहीले यात्रा गरेको महत्त्वपूर्ण फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन अनिवार्य प्रमाण पेश गर्नुपर्नेमा पेम्बाले सो समयमा सगरमाथा आरोहण गरेको कुनै पनि आधिकारिक प्रमाण पेश नगरेका कारण उनको विश्व रेकर्ड सर्वोच्चले खारेज गरेको हो।

९ जेठ २०६० मा पेम्बादोर्जे शेर्पाले १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। तर, तीन दिन नबित्दै लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेर तत्कालै नयाँ कीर्तिमान बनाए। आफूले कीर्तिमान बनाएर काठमाडौंमा सम्मानित हुन पाउँदा–नपाउँदै नयाँ कीर्तिमान बनाएको खबरपछि उनले नेपाल पर्यटन बोर्डमा उजुरी हालेका थिए। तर, बोर्डले उनको दाबी अस्वीकार गरिदियो।

अर्को वर्ष ९८ जेठ २०६१० पेम्बादोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा आरोहण गरेर आफ्नै कीर्तिमानी बनाएको दाबी पेश गरेका थिए। सो दाबीविरुद्ध लाक्पा गेलु शेर्पाले आफ्ना वारेस खोजिन्द्रप्रसाद घिमिरेमार्फत प्रमाण नपुगेको र सो समयमा कोही पनि सगरमाथा आरोहण नगरेको तथा सो दिन नेपाल र तिब्बत दुवै तर्फबाट कसैले पनि सगरमाथामा पाइला नराखेको दाबीसहित आफूले पहिला कायम गरेको १० घण्टा ५६ मिनेट नै विश्व रेकर्ड भएको उल्लेख गरी तत्कालीन पुनरावेदन अदालतमा मुद्दा दायर गरेका थिए।

लाक्पा गेलुले पर्वतारोहण नियमावलीअनुसार सबै प्रमाण जुटाएर मुद्दा दायर गरेपछि पेम्बादोर्जी शेर्पाले प्रमाण जुटाउन नसकेको सो मुद्दाका बहसकर्ता वरिष्ठ अधिवक्ता भैरवराज पन्तले बताए। उनका अनुसार पेम्बा दोर्जी शेर्पा कसैले पनि नदेख्ने गरी सगरमाथा पुगेको तथा ५ हजार ३ मिटरमाथि उचाइमा रहेका आधार शिविरबाट एक्लै हिँडेर गएको दाबी नै झुटो रहेको छ।

सर्वोच्च अदालतले प्राप्त प्रमाणलाई आधार मान्दै २१ मे २००४ मा सगरमाथामा मौसम ज्यादै खराब भएकाले कुनै पनि पर्वतारोही शिखरमा नपुगेको उल्लेख गरेको छ। वरिष्ठ अधिवक्ता पन्तका अनुसार पर्वतारोहणसम्बन्धी अभिलेख राख्ने संस्था ‘द माउन्टेरिङ एसोसिएसन अफ अटोनोमोस रिजन’ तथा नेपालमा बसेर पर्वतारोहणसम्बन्धी अध्ययन गर्ने अर्को बेलायती संस्था ‘एलिजावेथ हली’ले दिएको प्रमाणका आधारमा पनि पेम्बा दोर्जीले दाबी गरेको दिन २१ मे २००४ मा कोही पनि सगरमाथाको शिखरमा पुगेका थिएनन्। तर, उनले पर्यटन मन्त्रालयको पर्यटन महाशाखामा भने आफू सोही दिन ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.