|

कपिलवस्तु : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनको स्थायी सरकार निर्माण भएमा आगामी ५० वर्षसम्म गठबन्धनलाई कसैले हराउन नसक्ने बताएका छन्।  आफूहरुको नेतृत्वमा ५ वर्षे स्थायी सरकार निर्माण गरी सरकार सञ्चालन गर्ने अवसर पाएमा आगामी ५० वर्ष वाम गठबन्धनलाई कसैले पराजित गर्न नसक्ने बताए।

कपिलवस्तु क्षेत्र नम्बर १ को बर्रोहियामा शनिबार वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकार स्थिर हुने र त्यसले देशको विकास र समृद्धिमा छलाङ मार्ने बताए।

अधिकांश समय हिन्दी भाषामा बोलेका प्रचण्डले १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई तिहाई बढी मतले विजयी हुने दाबीसमेत गरे। उनले भने, ‘मंसिर २१ गतेके बाद वाम गठबन्धनके सरकार बनेगा, और ५० साल तक कोही हरा नही सक्ता।’

अध्यक्ष प्रचण्डले जनतासामु जाने अरु बहाना नपाएर वाम गठबन्धनको सरकार बनेमा बर्डर शिलदेखि जनताका अधिकार कटौती हुन्छन्, भन्ने दुस्प्रचार नगर्न कांग्रेसलाई आग्रह गरे। केही दिनअघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्तामा भारत पूर्ण रुपमा गठबन्धनप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएको बताए।

एमाले र माओवादी मिले भनेपछि नेपाली कांग्रेसलाई चिन्ता बढेको र भ्रमित प्रचारमा लागेको अध्यक्ष दाहालले आरोप लगाए। नेपालमा कम्युनिस्ट अधिनायकता लागू हुने भन्दै आलोचना गर्नेहरु नै चुनावी एकता टुट्छ भन्दै हिँडेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई जित्ने दाबी गरे।क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका उम्मेदवार चक्रपाणि खनाल बलदेवले आफूले कपिलवस्तुको समृद्धिसँगै सबै जनताको मुहारमा खुसियाली दिलाउने प्रतिबद्धता जनाए। सभामा प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बलदेव, २ का उम्मेदवार बृजेश कुमार गुप्ता, प्रदेश सभाका उम्मेदवार नेत्र पन्थी, फैजल खाँ, लगायतका नेताले कपिलवस्तुको समृद्धिको र रुपान्तरणका लागि वाम गठबन्धनलाई बहुमत दिन आग्रह गरे। 

सोही अवसरमा विभिन्न पार्टीका शीर्षस्थ नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। राप्रपा जिल्ला अध्यक्ष झिन्कन कुर्मी, उपाध्यक्ष रामेश्वर चौधरी, कांग्रेसका अन्जना राना, नयाशक्ति नेपालका काशिनाथ यादवलगायत दर्जन बढी नेताहरुलाई अध्यक्ष प्रचण्डले माला अवीर लगाई प्रवेश गराएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.