|

तनहुँ :  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको तनहुँ १ मा देशकै ध्यान केन्द्रित छ। उनीसँग वाम गठबन्धनका तर्फबाट नेपका एमालेका कृष्णकुमार श्रेष्ठ किसान प्रतिस्पर्धामा छन्।

२०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा चुनावसहित सबै पाँचवटै चुनावमा जित दर्ता गरेका पौडेललाई यसपटक वाम गठबन्धनको संयुक्त उम्मेदवार बनेका श्रेष्ठले कडा चुनौती दिँदैछन्। कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको असन्तुष्टी पनि पौडेललाई चुनौती बन्न सक्छ।

लामो समय राजनीतिमा सक्रिय र कांग्रेसको शीर्ष नेता हुनु पौडेलको सकारात्मक पक्ष हो। पौडेलका प्रतिस्पर्धी श्रेष्ठ भने व्यवसायिक पृष्ठभूमिका हुन्। यसअघि २०७० सालमा पनि पौडेलको प्रतिस्पर्धी रहेका श्रेष्ठले पराजय व्यहोरेका थिए। कांग्रेस वरिष्ठ नेता पौडेल छैटौं जितको खोजीमा छन् भने श्रेष्ठ २०७० सालमा व्यहोरेको हारको बदला लिने तयारीमा छन्। वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रले स्थानीय तहको चुनावमा पाएको मत कांग्रेसको भन्दा धेरै भएकाले श्रेष्ठले सुरक्षित महसुस गरेका होलान्। तर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म परिचित भएका कारण पौडेल पनि जितप्रति ढुक्क छन्।

वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ व्यापारिक क्षेत्रमा प्रसिद्ध भए पनि राजनीतिमा खासै परिचित नाम भने होइन। पौडेल विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् भने वाम गठबन्धनका श्रेष्ठले २०३८ सालदेखि राजनीति सुरुवात गरेका हुन्। हाल श्रेष्ठ नेकपा एमाले जिल्ला कमिटी तनहुँका सल्लाहकार छन्।

पौडेलको प्रतिस्पर्धी भएर आएका श्रेष्ठबारे आमचासो पनि छ। ‘मेरो राजनीतिक यात्रा २०३८ सालदेखि सुरु भएको हो, श्रेष्ठले भने, ‘राष्ट्रियस्तरमा पुगेर प्रतिस्पर्धा गरिएन भने पछाडि परिने रहेछ।’ ४ वटा उद्योगका सञ्चालक रहेका श्रेष्ठले राजनीतिक कार्यक्रमहरुमा आफूसँग ३० हजार युवाहरुलाई रोजगारी दिन सक्ने क्षमता रहेको समेत बताउदै आएका छन्।

त्यस्तै उनका प्रतिस्पर्धी पौडेलले कृषिको औद्योगिकरण गर्दै गाउँमा बसुँ बसुँ बनाउने योजना रहेको बताउने गरेका छन्। ‘पूरा शक्ति लगाई, पूरा मेहनतका साथ नेपालको सुरक्षाको लागि मुलुकको जीउ धनको रक्षाको लागि, नेपालको भविष्यको लागि बामगठबन्धन विरुद्ध चुनाव लडेको छु’, नेता पौडेलले भने।

कांग्रेसको दोस्रो वरियतामा रहेका पौडेल देशब्यापी रुपमा चुनावी प्रचारमा जुट्नुपर्ने भए पनि धेरै जसो समय आफ्नो निर्वाचन क्षेत्रलाई दिइरहेका छन्। मतदानको समय ४ दिन रहँदा दुवै उम्मेदवार आआफ्नो पक्षमा मत पार्नका लागि विभिन्न ग्रामीण तथा विकट क्षेत्रमा पुगेका छन्। जिल्लामा स्थानीय चुनावमा भन्दा १६ हजार मतदाता थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.