जनकपुरधाम : मध्यतराईका जिल्लामा बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण ४ दिनदेखि लागातार विमान सेवा अवरुद्ध हुँदै आएको छ। बाक्लो हुस्सुका कारण विमान अवतरण र उडान भर्नका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा विगत ४ दिनदेखि जनकपुरमा विमान सेवा अवरुद्ध हुँदै आएको हो।
उडान भर्नको लागि कम्तीमा आवश्यक पर्ने दुई हजार मिटर भिजिबिलिटी नभएकै कारण बाध्य भएर विमान सेवा बन्द गर्नुपरेको जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत मोहन ठाकुरले जानकारी दिए।
विमान सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन्। यात्रुहरु भाडाका गाडी र यात्रुबाहक साना गाडीहरु चढेर गन्तव्यस्थलसम्म पुग्न बाध्य भएका हुन्।
बुद्ध र यती एअरले जनकपुर काठमाडौंका लागि दैनिक चारपटक उडान भर्दै आएका थिए। शीतलहरसँगै बढेको अत्यधिक चिसोका कारण जनकपुर लगायतका बजारमा न्यानो कपडाको विक्री वितरण बढेको छ।
तापक्रममा खासै कमी नदेखिए पनि घाम लाग्न नसकेका कारण कठ्यांग्रिदो चिसोबाट जोगिनको लागि सर्वसाधारण न्यानो लुगाहरु किन्न थालेका छन्। ज्याकेट, स्वेटर, हाइनेक, थर्मलकोट, मोजा, पन्जा, टोपी लगायतका न्यानो लुगाको विक्री तीन गुणाले बढेको जनकपुर पिडारी चोकका कपडा व्यवसायी नीरञ्जन साह बताउँछन्।
यता, अत्यधिक चिसो एवं हुस्सुका कारण विद्यालय पढ्ने स–साना बालबालिकाहरु प्रभावित भएका छन्। जनकपुरका अधिकांश निजी स्कुलका विद्यालयका बालबालिकाहरुलाई बिहानकै सिफ्टमा स्कुल भएका कारण उनीहरु थप पीडित भएका छन्। अत्यधिक चिसो भएपछि तथा घाम नलागेपछि बृद्ध, बृद्धा, अशक्त, अपाङ्ग जस्ता व्यक्तिहरु समस्यामा पर्ने गरेको छ।
अघिल्ला वर्षहरुमा जाडोयाम प्रारम्भ हुनेबित्तिकै धनुषाका प्रत्येक गाविस, नगरपालिका र उपमहानगरपालिकाको विभिन्न स्थानमा आगोको व्यवस्था गरिए पनि विगत २ वर्षदेखि आगो बाल्ने कार्य गर्न सम्बन्धित दैविक उद्धार तथा प्रकोप नियन्त्रण समितिले चासो देखाएको छैन।
जनकपुर उपमहानगरपालिकाको विभिन्न चोकहरुमा सर्वसाधारण तथा बटुवाहरुको लागि आगोको व्यवस्था नगरिँदा कठ्याग्रिदो जाडोमा उनीहरु पीडित हुने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।