|

काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीको दूरी भने झनै बढाइदिएको छ।

एमालेले निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवाबीच गत ५ मंसिरयता एकपटक पनि संवाद भएको छैन।

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचारसमेत आरोप प्रत्यारोपमै बित्यो।

देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेताबीचको दूरी झन बढेको छ।

सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्थाअनुसार सत्ता हस्तान्तरण गर्ने तयारमिा छ। तर, एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन्।

प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटोअनुसार अघि बढेको बताउँदै आएको छ। स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघारदेखि नै दूरीमा रहँदै आएका छन्।

गत ५ मंसिरमा बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो भने त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा–ओलबीच भेटघाट भएको थियो। सो भेटमा भने दुवै नेताबीच संवाद भएन।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गत मंसिरमा बालुवाटारमा भेटघाट भएको बताए। उनले त्यसयता प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेट नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.