|

जनकपुरधाम : निर्वाचनको पूर्वसन्ध्यामा नेतामय भएका धनुषाका गाउँ, टोल तथा शहर बजारमा हिजोआज धन्यवाद दिन तथा बधाइ थाप्न जाने निर्वाचित सांसद पुगेका छन्।

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदले अमूल्य मत दिएर आफूलाई जिताएकोमा जनतालाई धन्यवाद दिदै उनीहरुका समस्या सुनेर टिपोट गर्दै पाँच वर्षे कार्यकालमा तीनको समाधान गर्ने विश्वास दिलाइरहेका छन्। धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो धनुषाको नगराइन नगरपालिका वडा नं. ७ देवडीहाका स्थानीयबासीलाई बधाइ दिन पुगेका छन्।

प्रतिनिधिसभा सांसदमा विजयी भएपछि हिजोआज महतोको दिनचर्या जनतालाई धन्यवाद दिने, उनीहरुका समस्या सुन्ने र तीनको समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनमै ठिक्क भएको छ। चुनाव जितेपछि नेताहरु गाउँ आउदैनन् भन्ने जनताको गुनासोलाई सम्बोधन गर्न महतो मात्र नभई धनुषाका ४ निर्वाचन क्षेत्रका प्रायः प्रदेश र प्रतिनिधिसभा सदस्यमा विजयी सांसदहरुले घरदैलो कार्यक्रमलाई हालसम्म समेत जारी राखेका छन्।

निर्वाचित जनप्रतिनिधि गाउँ आएका बेला नागरिकले आफ्नो गाँउटोलका समस्या सुनाउदै काम गर्न सुझाव दिएका छन्। घरमै आएका सांसद महतोलाई नगराइन नगरपालिकाको दवडीहाका बासिन्दाले दलित एवं पिछिडिएका वर्गको लागि सार्वजनिक शौचालय नभएको समस्या भएको सुनाउदै निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए। साथै उनीहरुले वर्षौदेखि जीर्ण रहेको सडकको मर्मत सम्भारमा समेत सहयोग गर्न अपिल गरे।

निर्वाचित सांसद घरदैलोमै पुगेकोप्रति खुशी व्यक्त गर्दै निर्वाचित सांसदले केही गर्लान् कि भन्ने आशा समेत जनताले व्यक्त गर्न थालेका छन्। महतोले पक्कै पनि राम्रो काम गर्नेमा आशावादी रहेको, यदि काम नगरेमा उनलाई किन गर्नुभएन भन्न सकिने वडा नं. ७ का फुलगेन्द्र झाले बताए। मतदातालाई धन्यवाद दिन घरदैलो अभियानका क्रममा ३ नं. क्षेत्रका बस्ती बस्ती पुगिरहेका सांसद राजेन्द्र महतोले आफ्नो जितले जनतामा उत्साह एवं आफूबाट ठुलो आशा र अपेक्षा गरिरहेको पाएको बताए ।

सोही क्रममा जनकपुर नगरबासीले आफूसँग राखिरहेका धेरै मागका थुप्रो भए पनि केही मागहरु बस्ती अनुसार फरक–फरक रहेको बताउदै उनले ती मुद्दाहरुका विषयमा सरोकारवाला निकाससँग छलफल गरेर समस्या साधानका लागि पहल गर्ने बताए।

क्षेत्र नं. ३ बाट निर्वाचित सांसद महतो जस्तै क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद मातृकाप्रसाद यादव पनि घरदैलो अभियान नै सञ्चालन गरेर मतदाता प्रती आभार प्रकट गरिरहेका छन्।

भेटघाटका क्रममा जनताले निर्वाचनका बेला बोलेका कुराहरुमा विशेष ध्यान दिन, जनता नबिर्सन र फेरी पनि ५ वर्ष आउछ भन्ने खालका सुझाव दिइरहेको यादवको भनाइ छ। यसरी घरदैलोमै पुगेर निर्वाचित प्रतिनिधिले समस्या र गाउँघरका आवश्यकताबारे बुझ्दा अब त नेताहरुले आफ्नो पक्षमा पक्कै पनि देखिने गरी काम गर्लान् भन्नेमा आशा पलाएको जनकपुरका अगुवा युवक प्रशान्त झाको विश्वास छ।

जनताको अमुल्य मतलाई ध्यानमा राखेर निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले जनताको मन जित्ने गरी काम गर्नुपर्ने राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.