|

काठमाडौं : हराएका, देहव्यापार, वेश्यावृत्ति र बेचविखनमा परेका पीडितको तत्काल खोजीका लागि पहिलोपटक ‘मोबाइल एप’ सुरु गरिएको छ।

माइती नेपालले शुक्रबारदेखि थालेको एपबाट नेपालका जुनसुकै सीमानाकाबाट भारत वा तेस्रो मुलुकमा गैरकानुनी रूपमा जान लागेका, बेचबिखनमा पर्न लागेका बालबालिका र चेलिबेटी तुरुन्त पत्ता लाग्ने छ। अमेरिकामा सुरक्षासम्बन्धी विभिन्न सफ्टवेयर निर्माण तथा आपूर्ति गर्दै आएको नेपाली इन्जिनियरको कम्पनी नाउट्रिकिट इन्क कम्पनीले माइती नेपाललाई सो एप प्रदान गरेको हो।

एपजडित २५ वटा फोरजी मोबाइलसहित आवश्यक सफ्टवेयर र सर्भर उपलब्ध गराएपछि हराएका चेलिबेटी खोज्ने कार्य सहज हुने भएको हो। अन्तर्राष्ट्रिय बजारमा सफ्टवेयरसहितको खोजी मोबाइल एपको मूल्य करिब १ मिलियन अमेरीकी डलर अर्थात् १० करोड नेपाली रुपैयाँबराबर भएको नाउट्रिकिट इन्क कम्पनीका प्रमुख कार्यकारी अधिकृत समीर पन्थीले जानकारी दिए।

२५ वर्षदेखि मानव बेचबिखनविरुद्ध सक्रिय रूपमा काम गर्दै भारतलगायत तेस्रो मुलुकमा बेचिन लागेका र बेचिएका सयौं चेलीबेटी उद्धार गरेकाले माइती नेपाललाई निःशुल्क एप प्रदान गरिएको जनाइएको छ। ‘यो एप प्रयोगमा ल्याउने माइती नेपाल नै नेपालको पहिलो संस्था हो,’ पन्थीले भने, ‘यसबाट भविष्यमा हराएका बालबालिका र चेलिबेटी समयमै पत्ता लगाउन र उनीहरूलाई बेचबिखनका लागि लैजाने अपराधी पक्रिन सजिलो हुने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.