|

पशुपतिनगर : कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्राण्ड बनाउन थालेको छ। 
दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ। कुकुरको आहाराका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन।

इलामका विभिन्न गाउँका गोठबाट छुर्पी सङ्कलन गर्दै आएका जमुनाका केवल राई यहाँको छुर्पी पोषिलो र स्वादिलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताउँछन्। उनले भने, ‘यसको माग बढ्न थालेपछि किसानले पहिलाभन्दा बढी मूल्य पनि पाइरहेका छन्। ’

अमेरिकामा अहिले वार्षिक चार लाख किलो नेपाली छुर्पीको माग भए पनि नेपालले दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताले जनाएका छन्। ‘अहिले वार्षिक चार लाख किलोभन्दा बढी नेपाली छुर्पीको माग छ’, अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनका सुजन श्रेष्ठले भने, ‘मागको तुलनामा आधा

मात्र पुर्‍याउन सकेका छौँ।’ ‘हिमालयन डग ट्यु’ को ब्राण्डमा नेपाली छुर्पी अमेरिकालगायतका देशमा निर्यात हुन थालेपछि उत्पादकले समेत राम्रो मूल्य पाइरहेका छन्। १० वर्षदेखि मुख्य गरी अमेरिका, क्यानडा, मेक्सीको, जापानलगायतका देशमा कुकुरको आहाराका लागि नेपाली छुर्पी निर्यात हुँदै आएको छ। 

‘अन्य देशममा समेत गरेर सात लाख किलो जति छुर्पीको माग छ’, निर्यातकर्ता श्रेष्ठ भने, ‘अहिलेसम्म चार लाख किलो छुर्पी गइरहेको छ। ’ माग पूरा गर्न नसकेपछि हिमालयन कर्पोरेसनले युरोपियन देशहरूमा अहिले छुर्पी निर्यात गर्न नसकेको उहाँले जानकारी दिनुभयो। इलामको पूर्वी क्षेत्रबाट कुकुरको आहाराका रूपमा छुर्पी विदेश निर्यात भइरहेको छ।

इलाम, तेह्रथुम र ताप्लेजुङका साना उद्योगमा उत्पादन भएको छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात हुने गरेको छ। निर्यातकर्ताले ग्रेडिङको आधारमा चार सय रुपियाँदेखि साढे सात सय रुपियाँ प्रतिकिलोका दरले किनेर छुर्पी निर्यात गर्ने गरेका छन्। 

‘गुणस्तर र एकै साइजको छुर्पी नबन्दा निर्यात पूरा गर्न नसकेका हौँ’–निर्यातकर्ता श्रेष्ठ भन्छन्, ‘राम्रो बनाउन सक्ने हो भने नेपाली छुर्पीको ब्राण्ड स्थापित भइसकेको छ। ’ अमेरिकाको माग पूरा गर्नका लागि बाँकी छुर्पी त्यही (अमेरिकामा) नै उत्पादन सुरु भएको उनले जानकारी दिए। ‘अमेरिकामा नै कुकुरका लागि बर्सेनि दुई लाख किलो छुर्पी उत्पादन गर्दै आएका छौँ’– उनी  भन्छन्– ‘त्यहाँ उत्पादन गर्न सस्तो पर्छ तर, नेपालमा बनेको छुर्पीको माग नै बढी छ। ’

इलाममा मात्रै छुर्पी बनाउने एक सय एकवटा उद्योग छन् तर साना उद्योग मात्र भएकाले गुणस्तरको उत्पादन हुन सकेको छैन। प्रतिकिलो छुर्पी उत्पादनमा सरदर छ सय ५० रुपियाँ पर्ने एक अध्ययनले देखाएको छ। यहाँको कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको उन्नति कार्यक्रमले गरेको अध्ययनअनुसार प्रतिकिलो छुर्पीको

उत्पादनमा छ सय ५० रुपैयाँ लगानी लाग्ने उन्नतिका कृषि व्यवसायविज्ञ रुद्र बरालले जानकारी दिए छ। ‘एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्छ’, उनले भने, ‘तर एक किलो छुर्पी बनाउँदा एक किलो घ्यू पनि निस्किन्छ, त्यसबाट किसानलाई छुट्टै फाइदा हुन्छ। ’ 

बाहिरी बजारमा तीन सयदेखि चार सय रुपियाँको हाराहारीमा छुर्पी बिक्री हुने गरेको छ। क्रेताको मापदण्ड अनुसार उत्पादन गर्न सकिए छुर्पी विदेश निर्यात गरेर राम्रो कमाइ गर्न सकिने विज्ञ बराल बताउँछन्। ‘छुर्पीलाई अन्य उत्पादन जस्तै ठूलो परिमाणमा उत्पादन गरियो भने उत्पादन लागतसमेत घट्छ, बजार पनि विस्तार हुन्छ’ उनले भने, ‘उत्पादन र निर्यात बढाउन त्यता ध्यान दिनुपर्छ। ’

इलाममा मात्रै सरदर दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ। उत्पादनको ५४ प्रतिशत मात्रै फ्रेस मिल्कमा बिक्री हुने गरेको उन्नतिले जनाएको छ। आधा जति दूध छुर्पी, चिज, ललिपप बनाइन्छ। इलाममा वार्षिक दुई सय सात मेट्रिक टन छुर्पी उत्पादन हुने गरेको छ। 
हिमालयन कर्पोरेसनले कुकुरका लागि चाहिने छुर्पी बनाउन अहिले उद्योग सञ्चालकलाई तालिम गराउँदै आएको छ। माग बढेपछि कुकुरको आहारामा छुर्पी निर्यातको काम अन्य व्यावसायिक कम्पनीले समेत थालेका छन्। 
नेपालमा उत्पादित छुर्पी अन्य देशको भन्दा स्वस्थ र गुणस्तरीय हुने गरेका कारण तेस्रो मुलुकका नागरिकको माग नेपाली उत्पादनतर्फ नै बढी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.