मन्त्रालयमा उपसचिव

|

काठमाडौं : सरकारले प्रदेश सरकारका लागि आवश्यक पर्ने कर्मचारी पठाउने तयारी गरेको छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा एक जना सचिव र मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी भएको हो।

सरकारले प्रदेश प्रमुख नियुक्ति र कर्मचारी तोक्ने तयारी अघि बढाएको हो। सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश प्रमुखको नियुक्ति हुन नसक्दा कर्मचारी खटाउने बाटो बन्द भएकाले बाटो नखुलेसम्म कर्मचारी फिल्डमा पुग्नेछैनन्। प्रदेश प्रमुखदेखि प्रदेश मन्त्रालयका सचिवहरूसमेत तोक्ने अन्तिम तयारीमा सरकार छ। प्रदेशस्तरमा कम्तीमा आठ निकाय हुनेछन्। जसमा प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालय रहने व्यवस्था छ।

यस्तै मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद्को कार्यालय, आर्थिक विकास मन्त्रालय रहनेछन्। सबै निकायमा कर्मचारीको व्यवस्थाका लागि सरकारले आवश्यक तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रदेशमा आर्थिक विकास मन्त्रालय, कृषि, सहकारी र भूमि व्यवस्थापन मन्त्रालय र गृह मन्त्रालय रहने व्यवस्था छ। जसका लागि आवश्यक पर्ने कर्मचारी मन्त्रालयको प्रकृतिअनुसार तयार पारिसकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

प्रदेशमा रहने पूर्वाधार विकास मन्त्रालय, वन, विज्ञान तथा वातावरण मन्त्रालय र शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि समेत केन्द्रमा रहने मन्त्रालयसँगको समन्वयमा कर्मचारी पठाउने तयारी सरकारले गरेको छ।

‘प्रदेश निर्वाचनपछि प्रदेश सरकार सञ्चालनमा आउने भएपछि सरकारका तर्फबाट कर्मचारी पठाउने तयारी अन्तिम चरणमा पुगेको छ,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने। उनका अनुसार प्रदेश सरकारका लागि मात्रै कम्तीमा २ हजार कर्मचारी चाहिन्छ। ‘प्रदेश सरकारका लागि कम्तीमा २ हजार कर्मचारी आवश्यक पर्ने भएकाले सोहीअनुसार व्यवस्थापन गर्न लागिएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.