|

धनकुटा : प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयले मंगलबार पनि धनकुटा बजार बन्द गराएका छन्। सोमबार पनि बजार बन्द गरेर क्षेत्रीय प्रशासन कार्यालय एवम् शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय घेराउ गरेका स्थानीयले मंगलबार पनि बिहानैदेखि बजार बन्द गराएका हुन्। व्यवसायीहरु पनि स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका छन्। यातायात र शिक्षण सञ्चालनमा भने अवरोध गरिएको छैन।

यसअघि सोमबार रित्तो थाल ठटाएर प्रदर्शन तथा क्षेत्रीय प्रशासन र सहरी विकास तथा भवन डिभिजन कार्यालय घेराउ गरिएको थियो।

मंगलबार ११ बजेदेखि १२ बजेसम्म विरोध र्‍याली तथा १२ देखि १ बजेसम्म धनकुटाको जिरोपोइन्टमा चक्काजाम गर्ने र बुधबारदेखि अनिश्चितकालीन धनकुटा बन्दको कार्यक्रम तय गरेको आन्दोलन परिचालन समिति सदस्य तथा धनकुटा उद्योग वाणिज्य संघका कार्यालय सचिव जयन्द्र प्रधानले जानकारी दिए।

यसअघि पटक–पटक क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका धनकुटावासीले मंगलबार धनकुटा प्रादेशिक राजधानी माग गर्दै संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन्। उक्त हस्ताक्षर अभियानमा १ नम्बर प्रदेशका १४ जिल्लाका ७ लाख बढीले हस्ताक्षर गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषि राईले जानकारी दिए।

हरेक दृष्टिकोणले धनकुटा प्रादेशिक राजधानी उपयुक्त भएको र अन्य स्थानमा राजधानी नस्वीकार्ने भन्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले धनकुटा बन्द लगायतका चरणबद्ध आन्दोलन गर्दै चौथो चरणको आन्दोलन जारी राखेका छन्। हिमाल, पहाड र तराई मिलाएर बनेको १ नम्बर प्रदेशमा रहेका तराईका जिल्ला त्यसै पनि विकास भइसकेका हुनाले पहाडी र हिमाली क्षेत्रको विकासका लागि पनि धनकुटा राजधानी हुनुपर्ने आन्दोलनकारीको तर्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.