|

लहान : बोक्सीको आरोपमा कुटिएकी लहान नगरपालिका २१ कि ३६ वर्षीया रितादेवी दासलाई स्थानीय राजनीतिक अगुवाहरुले स्थानीयस्तरमै मिलापत्र गर्न दबाब दिन थालेका छन्। 

गएको शनिबार साँझ गाउँमै ज्याला मजदुरी गरेर फर्किदै गरेको अवस्थामा बाटो छेकेर छिमेकी इनरदेवी दास र उनकी छोरी लिलमले ‘बोक्सीको टुनामुना गरी बिरामी बनाउने’ भन्दै कुटपिट गरेको पीडित दासले बताइन्। कुटपिटको क्रममा पाखुरा र पिठ्युँमा चोट लागेकी रिता लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरी घर फर्किसकेपछि स्थानीय अगुवाहरुले मिल्न दबाब दिएको उनले बताइन्।

पीडित दासले इलाका प्रहरी कार्यालय लहानमा पीडकहरु विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन्। ‘पहिले पनि बोक्सीको आरोप लगाएर ममाथि तीन/तीन पटक कुटपिट भएको छ’ उनले भनिन् ‘गाउँघर इष्टमित्र चाहिन्छ भनेर मिलापत्र गर्न लगाइयो, यो पल्ट चाहिँ पीडा सहन नसकेर कानुनी उपचारका लागि प्रहरीमा आएकी हुँ।’ 

मिलापत्र नगरे गाउँ निकालाको धम्की 

प्रहरीमा उजुरी गरेपछि स्थानीय अगुवाहरुले अझै मिल्न दबाब दिइरहेको र नमिले गाउँ निकाला गर्ने धम्की दिइरहेको पीडित दासले बताइन्। आफूलाई मिलापत्र गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरिए बस्दै आएको ऐलानी जग्गाबाट समेत उठिबास गराउने धम्की दिइरहेको उनले गुनासो गरिन्। 

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर चन्दले पीडितले दिएको उजुरी दर्ता गरी कुटपिटमा संग्लन इनरदेवी र उनकी छोरी लिलमलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरी नायव उपरीक्षक चन्दले पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.