|

कपिलवस्तु : बहुवर्षीय ठेक्का प्रणालीमार्फत निर्माण भइरहेका कपिलवस्तुका निर्माणाधीन ६ सडकको काम रोकिने भएको छ। अर्थमन्त्रालयले थप बजेट नदिएपछि जिल्लामा क्षेत्रीय एवं पर्यटकीय महत्त्वका सडकहरूको निर्माण कार्य बिचमै रोकिने भएको हो।

बहुवर्षीय ठेक्कामार्फत निर्माणाधीन कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी गरी ६ वटा सडक निर्माण बिचमै रोकिन लागेको हो।

गत आवमा कपिलवस्तुका क्षेत्रीय तथा पर्यटकीय महत्त्वका ६ वटा सडकलाई कालोपत्रे तथा विस्तार गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाएको थियो। अर्थ मन्त्रालयले आव ०७३\७४ मा २१ वटा सडक स्तरोन्नति तथा निर्माण गर्न ८ लाखका दरले बजेट विनियोजन गरेको  थियो। जसमध्ये ६ वटा सडकलाई बहुवर्षीय आयोजना मार्फत ठेक्का लगाउन अर्थ मन्त्रालयले सहमति दिएको थियो। सोही बमोजिम ठेक्का लगाएर पहिलो चरणमा रकम निकासा गरेको मन्त्रालयले दोस्रो चरणमा भने बजेट नै नछुट्याएपछि समस्या सिर्जना भएको छ।

सडक डिभिजन कार्यालय शिवपुर कपिलवस्तुले गत आवमा ठेक्का सम्झौता गरी अहिलेसम्म सबै सडकमा काम भइरहेको जनाएको छ। डिभिजन प्रमुख इन्जिनियर रमेश पौडेलले चालु आवमा मन्त्रालयले बजेट विनियोजन नगरेको कारण चालु अवस्थामा रहेका कामको भुक्तानी दिन समेत समस्या भएको बताएका छन्। ‘३ वर्षको ठेक्का सम्झौता छ, पहिलो चरणको भुक्तानी दियौं, अब बजेट नै छैन कसरी दिने?’ उनले भने।

कार्यालयका अनुसार पूर्व–पश्चिम राजमार्ग देखि प्राचिन तिलौराकोट दरबार जोड्ने कोइली–कोपवा–तिलौराकोटको आठ किमि सडकको निर्माण द्रुत गतिमा भइरहेको छ। ७ मिटर चौडा कालोपत्रे सडक निर्माणको लागि १५ करोडमा अर्घाखाँची निर्माण सेवालाई ठेक्का दिइएको छ। तर ठेकेदार कम्पनीले २५ प्रतिशत बढिको काम गरिसकेको कार्यालयले जनाएको छ।

ठेकेदार सागर भुसालले अहिले सम्म ४ करोड रुपैयाँभन्दा बढीको काम गरिसके पनि भुक्तानी भने नपाएको बताए। ‘बजेट हालसम्म प्राप्त छैन, सबै उधारोमा काम चलाएको छु, सडक डिभिजन कार्यालयले बजेट आएको छैन भन्छ, अब रकम आएन भने काम गर्दैन’, उनले भने। भुसालमात्र नभई अन्य ५ वटै निर्माण कम्पनीले माघ महिनाभित्र रकम नआए काम रोकिने बताएका छन्।

पर्यटकीय तथा पुरातात्त्विक महत्वका ६ वटा सडकको ५६ किमी कालोपत्रे गरी सम्पन्न गर्न १ अर्ब ६ करोड रुपैयाँ आवश्यक पर्ने डिभिजन सडक कार्यालयले जनाएको छ। ‘हामीले त्यति रकमै ठेक्का लगाएका छौं, रकम भने आएको छैन, अधिकांश निर्माण कम्पनीले काम अघि बढाइसके’, डिभिजन प्रमुख पौडेलले भने । सडक विभागले साउनमै बजेट विनियोजन गरिदिन माग गरे पनि अर्थ मन्त्रालयले स्थानीय तथा प्रतिनिधिसभा निर्वाचनका कारण ढिला भएको प्रमुख पौडेलले बताए। ‘मौखिक रूपमा मन्त्रालयले आश्वासन दिएको छ तर कार्यान्वयन कहिले गर्ने हो थाहा छैन’, उनले भने। 

निर्माणाधीन सबै सडक प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत पर्ने भएपछि नवनिर्वाचित सांसद चक्रपाणि खनालले यसबारे विशेष चासो देखाएका छन्। जिल्लाको ग्रामीण तथा पर्यटकीय क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रहेका उक्त सडक बजेट अभावकै कारण रोकिनु दु:खद भएको सांसद खनालले बताए। ‘अर्थ मन्त्रालयले के कति कारणले बजेट दिएको छैन, मैले यसबारे बुझेर आवश्यक प्रक्रियाका लागि दबाब दिन्छु’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.