|

काठमाडौं : एमाले–माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो।

एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ।बैंककको नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका ओली र दाहालबीच शुक्रबार तीन घण्टा लामो छलफल यसै प्रक्रियालाई टुंग्याउनेमा केन्द्रित रह्यो। पार्टी एकता, राष्ट्रियसभा निर्वाचनमा कार्यदलले दिएको प्रतिवेदन र प्रदेश सरकार गठनका विषयमा ‘गहन र सकारात्मक’ छलफल भएको दुवै पक्षका नेताहरूले बताएका छन्।

‘पार्टी एकता अन्तिम चरणमा पुगेको अवस्था हो’, एमाले सचिव प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्षबीच निर्णायक कुराकानी भएको छ र भोलि त्यसले ठोस आकार लिने विश्वास गरेका छौं।’ दाहाल र ओलीबीच टुंगिन बाँकी विषयलाई अन्तिम रूप दिन शनिबार थप छलफल हुने ओलीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनमा समय लाग्ने भएपछि पार्टी एकतालाई छिटो र छोटो विधिबाट टुंग्याउन दुई नेताबीच समझदारी भएको ओलीको सचिवालयले जनाएको छ। दुई पार्टीबीचको एकतालाई ठोस रूपमा अघि बढाउन आइतबार एकता संयोजन समिति बैठक बोलाइएको छ। बैठकले सांगठानिक र वैचारिक कार्यदल बनाएर एकता प्रक्रियालाई ठोस रूपमा अघि बढाउने माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यद्यपि, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेमा अझै पनि विभिन्न मोडेलमा छलफल विचाराधीन छ। एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे नेताहरूले खुलाउन चाहेनन्। उच्च स्रोतका अनुसार ओली र दाहाल दुवै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत् राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरू सहमतिनजिक छन्।

तर, माओवादी केन्द्रका केही नेताले भने प्रधानमन्त्रीमा ओली, पार्टीको सबै नेतृत्व लिने गरी दाहाललाई पार्टी अध्यक्ष बनाउनुपर्ने दबाब दिइरहेका छन्। ‘दुवैजना अध्यक्ष रहने र पदाधिकारीमा केही संख्या थपेर अघि बढ्ने पनि एउटा राम्रो विकल्पका रूपमा छलफल भइरहेको छ’, सचिव ज्ञवालीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.